कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

सर्लाही। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिए।
“नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ”, उनले भने, “नेपाल सरकारको नीति नियम र कानूनभित्र बसेर स्वतन्त्र, निश्पक्ष र प्रभावकारी सेवा प्रदान गर्न सक्नुपर्दछ।”
मन्त्री यादवले भने, “अहिलेको सरकारलाई जनताले दुई तिहाईको बलियो बहुमत दिएको छ र इच्छा पनि बलियो नै राखेको छ। त्यो इच्छा पूरा गर्नका लागि पनि तपाईहरुको साथ सहयोग जरुरी छ । त्यसैले तपाईहरु जहाँ जुन कार्यालयमा हुनुहुन्छ राम्रोसँग काम गर्नुस् । सरकार सदैव तपाईहरुको साथमा रहनेछ।” रासस
Facebook Comment