फाँसीको सजाय पाइसकेका निर्भयाका दोषीको पुनर्विचार निवेदन स्वीकार, फाँसी माफ हुनसक्छ
नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले फाँसीको सजाय सुनाइसकेका निर्भया काण्डका दोषीले सर्वोच्च अदालतमै पुनर्विचारको लागि दिएको निवेदन अदालतले स्वीकार गरेको छ । निर्भया बलात्कार र हत्याकाण्डका चारै जना दोषीलाई सर्वोच्चले यसअघि नै फाँसीको सजाय सुनाइसकेको छ । जिल्ला अदालतले फाँसीको सजाय सुनाएका यी दोषीको सजाय उच्च अदालत हुँदै सर्वोच्च अदालतले पनि कायमै राखेको थियो । यी ४ जना दोषीमध्ये एकले दिएको पुनर्विचार याचिका सर्वोच्चले स्वीकार गरेको हो ।
दोषी अक्षय कुमारले दिएको पुनर्विचार याचिकामा अब सर्वोच्च अदालतले यही डिसेम्बर १७ मा दिउँसो २ बजे सुनुवाइ गर्नेछ । तीन न्यायाधीशको बेन्चमा यसको सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले दोषीको याचिका स्वीकार गरेपछि निर्भयाकी आमाले आक्रोश व्यक्त गरेकी छिन् । निर्भयाकी आमाले यो कानुनी व्यवस्थामाथि थप्पड भएको बताएकी छिन् । उनले सर्वोच्च अदालतको निर्णय सुन्दा आफूलाई झट्का लागेको बताउँदै व्यवस्था अपराधीको अगाडि लाचार भएको बताइन् । उनले १६ डिसेम्बरमा उनीहरुलाई फाँसी दिइन्छ भन्ने आफूले आशा गरेको बताएकी छिन् । ७ वर्षअघि १६ डिसेम्बरकै दिन निर्भयाको हत्या भएको थियो ।
पूरै देश निर्भयाका दोषीहरुलाई सजाय दिइने प्रतिक्षामा छ तर अर्कोतर्फ यसका दोषीहरु कानुनी अप्ठ्याराको फाइदा उठाउने कोसिस गरिरहेका छन् । सर्वोच्च अदालतले फाँसीको सजाय कायमै राखेपछि अहिले दोषीहरुको दया याचिका राष्ट्रपतिकहाँ पुगेको छ । राष्ट्रपतिले दया याचिका खारेज गर्नेबित्तिकै उनीहरुलाई फाँसीको सजाय निश्चित हुनेछ । तर, यही बीचमा एक दोषीले सर्वोच्चमै पुनर्विचार याचिका दायर गरे । अदालतले यसलाई पनि स्वीकार गरेको छ । दोषी अक्षय कुमार ठाकुरले आफूलाई दिइएको फाँसीको सजायमा एकपटक फेरि विचार गर्न आग्रह गरेका छन् ।
सर्वोच्चले यो याचिका स्वीकार गरेर सुनुवाइ गर्ने निर्णय गरेसँगै उनीहरुको सुनुवाइ लम्बिनेछ । यससँगै सुनुवाइ सकिने प्रतिक्षामा राष्ट्रपतिले दया याचिकामा गर्ने निण्र्णयमा पनि ढिलाइ हुनेछ । राष्ट्रपतिकहाँ दया याचिका पुगिसकेको अवस्थामा यसमा निर्णय गर्न ढिलाइ हुँदा यसले दोषीहरुको मानवअधिकारको हनन हुने संविधानको धारा आकर्षित हुने सम्भावना हुन्छ । यदि यो धारा आकर्षित भएमा यसको सुनुवाइ फेरि सर्वोच्चमै फर्किनेछ र अदालतले उनीहरुको सजाय कम गर्न सक्छ । यसअघि निर्णयमा ढिलाइ भएर मानवअधिकारको धारा आकर्षित हुँदा पूर्व प्रधानमन्त्री राजीव गान्धीका हत्याराले पाएको फाँसीको सजाय २०१४ मा सर्वोच्च अदालतले बदलेर आजीवन कारावासको सजाय सुनाएको थियो ।
उता तिहाड जेलमा भने दोषीहरुलाई फाँसी दिने तयारी चलिरहेको छ । ३ जना दोषी पहिलेदेखि नै तिहाड जेलमा थिए तर एक दोषी विनय शर्मा अर्को जेलमा थिए जहाँ फाँसीको व्यवथा थिएन । अहिले विनयलाई पनि फाँसीको व्यवस्था भएको तिहाड जेलमै ल्याइएको छ । विनयलाई मण्डोली जेलबाट तिहाड सारिएसँगै उनीहरुलाई फाँसी दिइने विषय चर्चामा छ । विनयलाई फाँसी दिनकै लागि तिहाड ल्याइएको आम नागरिकको बुझाइ छ ।
Facebook Comment