यसै महिना स्नातक पूरा गर्न लागेका ९ वर्षका बालकले डिग्री बहिष्कार गरेर विश्वविद्यालय छोडे

डिसी नेपाल
२७ मंसिर २०७६ ११:५४

एजेन्सी। यसै महिनाको अन्त्यमा संसारका सबैभन्दा कम उमेरका ग्रयाजुएट बन्न लागेका लरेन्ट सिमन्सले विश्वविद्यालय छोडेका छन् । बेल्जियमका ९ वर्षका लरेन्ट आइण्डहोवन युनिभर्सिटी अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरिरहेका थिए । उनले अन्तिम परीक्षा दिएर यही डिसेम्बर महिनाको अन्त्यसम्ममा विश्वविद्यालयले उनलाई ग्रयाजुएशन डिग्री दिनुपर्ने थियो । तर विश्वविद्यालयले अन्तिम समयमा डिग्री दिने समय सारेपछि उनका अभिभावकले विश्वविद्यालय नै छाडेका हुन् ।

यससँगै एउटा विश्वरेकर्ड तोड्ने संघारमा रहेका लरेन्टले त्यो रेकर्ड त तोड्न सकेनन् तर अर्को विश्वरेकर्ड बनाएका छन् । लरेन्टको जन्म २६ डिसेम्बरमा भएको थियो । यदि उनले डिग्री लिन त्योभन्दा ढिलाइ भएमा उनको उमेर १० वर्ष हुनेछ र उनी सबैभन्दा कम उमेरका ग्रयाजुएट बन्न पाउने छैनन् । सबैभन्दा कम उमेरको ग्रयाजुएट बन्न विश्वविद्यालयले मिति सारेका कारण नसकेपनि लरेन्ट सबैभन्दा कम उमेरमा विश्वविद्यालयको अध्ययन बीचमै छाड्ने ‘ड्रपआउट’ बन्दै नयाँ विश्वरेकर्ड बनाएका छन् ।

विश्वविद्यालयको दावी अनुसार डिसेम्बरको अन्त्यसम्ममा लरेन्टको सबै परीक्षा पूरा हुन सक्भव छेन त्यसैले उनलाई डिग्री अर्को वर्षको जुलाइमा मात्र दिन सकिन्छ । तर लरेन्टले भने यसको कारण एक मौखिक परीक्षामा फेल गराइएपछि आफूले विरोध गरेका कारण विश्वविद्यालयले यस्तो गरेको दावी गरेका छन् । अहिलेसम्म अमेरिकाका माइकल किरेनी संसारका सबैभन्दा कान्छा ग्रयाजुएटको रुपमा कायमै छन् । उनले सन् १९९४ मा १० वर्ष ४ महिनाको उमेरमा ग्रयाजुएशन गरेका थिए ।

लरेन्ट सिमन्सले इन्स्टाग्राममा एक पोस्ट गर्दै विश्वविद्यालयप्रति आफ्नो असन्तुष्टि जनाउँदै अधिकारीहरुलाई झुटो भनेका छन् । पोस्टमा लरेन्टले त्यो इमेलको स्क्रिनशट पनि राखेका छन् जसमा विश्वविद्यालयले उनलाई यसै वर्ष सबै परीक्षा सकेर ग्रयाजुएट गर्ने भनेको थियो । उनले पोस्टमा लेखेका छन् ‘मेरो पढाइ राम्रो चलिरहेको थियो र डिसेम्बरमा पढाइ सकिनुपर्ने थियो । तर मेरा अभिभावकसँग भनियो कि सबै परीक्षा नसकिने भएका कारण डिसेम्बरमा डिग्री दिन सम्भव छैन । यद्यपि यसको कारण मौखिक परीक्षा वाला घटना थियो । मैले विरोध गरेपछि उनीहरुले भने कि डिसेम्बरमा डिग्री दिन्नौं । एक महिना, दुई महिना, तीन महिना तर सात महिना यो त हद हो ।’

स्मरण रहोस् गत महिना लरेन्ट सबैभन्दा कम उमेरमा ग्रयाजुएट बन्न लागेको समाचारमा टिप्पणी गर्दै विश्वविद्यालयले उनलाई विलक्षण प्रतिभाका धनी भनेको थियो । लरेन्टका पिता अलेक्जेण्डरका अनुसर अघिल्लो महिनासम्म सबथोक ठिक चलिरहेको थियो । तर अहिले अचानक डिग्री दिन सात महिना ढिलाइ हुने कुरा आएको छ । यो ठिक होइन । पिताका अनुसार लरेन्टको ग्रयाजुएशनपछि विदेशको एक विश्वविद्यालयबाट पिएचडी गर्ने योजना थियो । लरेन्टलाई कैयौं ठूला विश्वविद्यालयले अध्ययनका लागि अफर दिएका छन् । उनको अगाडिको पढाइबारे छिटै फैसला गर्ने अलेक्जेण्डरले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *