आइपिएल अक्सनः सबै खेलाडीको सूची सार्वजनिक, पहिलोपटक दिउँसोमै लिलामी हुने

डिसी नेपाल
२७ मंसिर २०७६ १५:५४

काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले आइपिएल २०२० को लागि हुने लिलामीको लागि ३३२ खेलाडीको अन्तिम सूची जारी गरेको छ । १९ डिसेम्बरमा कोलकातामा दिउँसो साढे ३ बजेदेखि लिलामीको प्रक्रिया सुरु हुनेछ । आइपिएलमा पहिलो पटक लिलामी बिहानको सट्टा दिउँसो हुनेछ । टिभीको प्राइम टाइम स्लटलाई हेरेर यस्तो गरिएको हो । लिलामीको लागि दर्ता भएका ९९७ मध्ये ३३२ खेलाडी सर्टलिस्ट गरिएको हो ।

जारी सूचीमा १८६ भारतीय खेलाडी छन् । १४३ विदेशी टेस्ट मान्यता प्राप्त देशका खेलाडी छन् भने ३ जना एसोसिएट सदस्य देशका खेलाडी छन् । पहिलो पटक अमेरिका र स्कटल्याण्डका खेलाडी लिलामीमा सहभागी हुँदैछन् । स्कटल्याण्डका जर्ज मुन्सी र अमेरिकाका अली खान लिलामीमा समावेश छन् ।

सूचीमा २ करोड बेस मूल्यमा ७ खेलाडी छन् । यीमध्ये ५ जना अस्ट्रेलियाका छन् । यो सूचीमा कुनै पनि भारतीय खेलाडी छैनन् । २ करोड बेस मूल्य भएका खेलाडीहरु ग्लेन म्याक्सवेल, क्रिस लिन, प्याट कमिन्स, जोश हेजलउड, मिचेल मार्श अस्ट्रेलियाका छन् । श्रीलंकाका एन्जेलो म्याथ्युज र दक्षिण अफ्रिकाका डेल स्टेनको बेस मूल्य पनि २ करोड छ । १.५ करोडको सूचीमा रबिन उथप्पा एकमात्र भारतीय छन् । १ करोडको सूचीमा पियुष चावला, युसुफ पठान र जयदेव उनादकट गरी ३ जना भारतीय छन् ।

१.५ करोडको सूचीमा १० खेलाडी छन् । यो सूचीमा भारतका रबिन उथप्पासहित इङल्याण्डका इयान मोर्गन, जेसन रोय, क्रिस वोक्स र डेभिड विली, अस्ट्रेलियाका एडम जाम्पा, शन मार्श, केन रिचर्डसन, दक्षिण अफ्रिकाका केल एबोट र क्रिस मोरिस छन् । भारतका लिलामीको सूचीमा प्रविण ताम्बे सबैभन्दा पाका खेलाडी छन् । उनको उमेर ४८ वर्ष छ । विदेशी खेलाडीमा सबैभन्दा पाका अस्ट्रेलियाका फवाद अहमद छन् । उनको उमेर ३७ वर्ष छ । लिलामी सूचीमा सबैभन्दा कान्छा खेलाडी अफगानिस्तानका नूर अहमद छन् । उनको उमेर १५ वर्ष छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *