पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी

डिसी नेपाल
२७ मंसिर २०७६ २१:०४

काठमाडौं । प्रेस काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नतिजा पुनरावलोकनको माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलले माग पूरा गर्ने विषयमा कुनै चासो नदेखाएपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको बताएका छन् ।

तालाबन्दी गर्ने समयमा काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ कार्यालयमा उपस्थित थिएनन् । पत्रकारहरु संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । सङ्घर्ष समिति, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले आन्दोलनको अगुवाइ गरेका छन् । पत्रकारले शुक्रबार काउन्सिलको मूलगेटमा एक घण्टा धर्नासमेत दिए । धर्नालाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालले सङ्घर्ष समति र शाखाहरुको अगुवाइमा भएको आन्दोलनलाई सुनुवाइ नगरे महासंघ केन्द्रले नै आन्दोलनको नेतृत्व गर्ने बताए ।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रामहरि सिलवालले प्रेस काउन्सिलका पदाधिकारी भगवण्डाका आधारमा अघि बढेकाले समस्या सिर्जना भएको बताए। पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झाले पहुँच, प्रभाव र दबाबका भरमा पत्रिका वर्गीकरण गर्ने गरिएको बताए। पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले लोकतन्त्र र गणतन्त्रको पक्षमा रगत, पसिना बगाएका मिडियाको विकासमा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले प्रेस काउन्सिलका गतिविधि अपारदर्शी भएकै कारण सरकारले मिडिया काउन्सिलको अवधारण ल्याएको टिप्पणी गरे।

पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारीले चौथो चरणको कार्यक्रमअन्तर्गत धर्ना र तालाबन्दी गरिएको भन्दै आन्दोलनप्रति पत्रकारिता जगत्बाट समर्थन बढिरहेको बताए । “सञ्चारमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइसकेका छौँ”, उनले भने। सङ्घर्ष समितिका संयोजक दीपक पाण्डेले काउन्सिलले समयमै माग सम्बोधन नगरे दशैभरका पत्रकार काठमाडौँमा उतार्ने चेतावनी दिए।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकी, पत्रकार नवराज न्यौपाने, पदमराज जोशी, ईश्वरी वाग्ले, विष्णु प्रसाईं, एलएस लामा, तारा नेपाल, विजय विष्फोट, रमेश महतरा, सुमन वाङ्देल लगायतले मन्तव्य राख्दै काउन्सिलले यथाशीघ्र माग पूरा नगरे आन्दोलनका कार्यक्रमलाई चर्काउने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *