अम्पायर अलीम दारले टेस्टमा बनाए विश्वरेकर्ड, वनडे र टि–२० मा पनि तोड्ने संघारमा
काठमाडौं। पाकिस्तानका अम्पायर अलीम दारले बिहीबार टेस्ट क्रिकेटमा विश्वरेकर्ड बनाएका छन् । उनले वेष्ट इण्डिजका अम्पायर स्टिभ बकनरलाई उछिन्दै सबैभन्दा धेरै टेस्ट क्रिकेटमा अम्पायरिङ गर्ने अम्पायरको विश्वरेकर्ड बनाएका हुन् । अहिलेसम्म सबैभन्दा धेरै टेस्टमा अम्पायरको भूमिका निभाउनेमा बकनर शीर्षमा थिए । उनले १२८ टेस्टमा अम्पायरिङ गरेका थिए ।
अलीम दारले अहिले जारी अस्ट्रेलिया न्यूजिल्याण्डको टेस्टमा अम्पायरिङ गरिरहेका छन् र यो उनको अम्पायरको रुपमा १२९ औं टेस्ट क्रिकेट हो । अम्पायरिङ भन्दा पहिले अलीम दारले १० वर्ष फर्स्ट क्लास क्रिकेट खेलेका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २००३ देखि अम्पायरिङ गर्न थालेका हुन् । उनको अन्तर्राष्ट्रिय अम्पायरिङ करिअरको सुरुवात २००३ मा इङल्याण्ड र बंगलादेशबीच ढाकामा भएको खेलमा भएको थियो ।
आइसीसीले अलीम दारको हवाला दिँदै लेखेको छ ‘मैले जब आफ्नो अम्पायरिङ करिअर सुरु गरेको थिएँ त्यतिबेला यो मुकामसम्म पुग्नेबारे सोचेको थिइन । यो शानदार महसुस हो र मेरो जीवनको सबैभन्दा राम्रो पल ।’ उनले अगाडि भने ‘स्टिभ बनकर मेरा आदर्श हुन् र मलाई आभास भइरहेको छ कि म उनले भन्दा धेरै टेस्टमा अम्पायरिङ गर्न गइरहेको छु । आफ्नो २ दशक लामो करिअरमा म भाग्यशाली रहें कि ब्रायन लाराको टेस्टमा ४०० रनको नटआउट इनिङ र २००६ मा दक्षिण अफ्रिकाले ४३४ रनको लक्ष्यको पिछा गर्दै जितेको देख्न पाएँ ।’
अलीम दार एकदिवसीय क्रिकेटमा पनि यो विश्वरेकर्ड बनाउनबाट केवल २ खेल पछाडि छन् । उनले अहिलेसम्म २०७ एकदिवसीयमा अम्पायरिङ गरिसकेका छन् । उनीभन्दा अगाडि दक्षिण अफ्रिकाका रुडी कर्टजन छन् । कर्टजनले २०९ एकदिवसीयमा अम्पायरिङ गरेका छन् । यी पाकिस्तानी अम्पायर अलीम दार टि–२० अन्तर्राष्ट्रियमा पनि इतिहास बनाउने संघारमा छन् । उनले अहिलेसम्म ४६ टि–२० अन्तर्राष्ट्रियमा अम्पायरको भूमिका निभाएका छन् । उनीभन्दा अगाडि ४७ टि–२० अन्तर्राष्ट्रियमा अम्पायरिङ गरेका पाकिस्तानकै अहसान राजा छन् ।
Facebook Comment