पौडेललाई फकाउँदै देउवा

डिसी नेपाल
२८ मंसिर २०७६ १६:१९

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन शनिबार बिहानै उनकै निवास बोहोराटार पुगे।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर पौडेलले शुक्रबार चाक्सीबारीमा छुट्टै गरेका थिए। पौडेल बैठक नै बहिस्कारको तहमा उत्रेपछि देउवा पौडेललाई फकाउने मुडमा पुगेका हुन्।

शनिबार बिहान देउवाले उपसभापति विमलेन्द्र निधीलाई पनि साथ लिएका थिए।

भेटमा चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानुको विकल्प नभएको भन्दै सबै कुरा मिलाएर अगाडि बढ्ने विषयमा कुराकानी नेताहरुले बताएका छन्। सभापति देउवालाई हतारमा अगाडि बढ्नुभन्दा पनि संयमतापूर्वक र उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने सुझाव देउवालाई आफुले दिएको पौडेलले बताए। ‘चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जरुरी छ। पार्टीलाई एक बनाउनका लागि पार्टीभित्रका केही समस्याहरुलाई न्यायपूर्ण र पारदर्शी ढंगले मिलाएर अगाडि लानुपर्छ । यहि विषयमा सभापति ज्यूसँग कुरा भएको छ। उहाँलाई धेरै हतारमा नजानुहोस् संयमतापूर्णक र उदारतापूर्वक पार्टीलाई कसरी समेटेर लान सकन्छि? यो सभापतिको जिम्मेवारी हो । हामी सबैले साथ दिन्छौँ’, उनले भने।

सभापतिको कार्यकाल कति थप हुने भन्ने कुरा महाधिवेशन कार्यतालिकाले निर्धारण गर्ने भएकाले यो एजेण्डा बैठकमा प्रस्तुत हुनुपर्ने उनको धारणा थियो ।

पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ। ‘उहाँहरु (वार्ता समिति) ले बसेर छलफल गरेर सबै कुरा मिलाउँछन् । सबै भन्दा पहिले महाधिवेशनको एजेण्डा पहिलो सर्त हो । यसलाई अगाडि राखेर अरुपनि संगठनात्मक समस्याहरुलाई दुईथरी बसेर पारस्परीकताका आधारमा न्यापूर्ण र पारदर्शी ढंगले समाधान गर्दै जानुपर्छ’, उनले भने।

छलफलमा सहभागि उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताए।

महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले महाधिवेशनको कार्यतालिका नै नबनाउने नभनेको बताए। पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीचको छलफल सकारात्मक भएको उनको भनाई छ।

‘निर्वाचन समितिले अन्तरिम संरचनाको समायोजनको काम गर्दै छ । समायोजनको काम सकिएपछि कार्यतालिका पनि हामी बनाउँला । कार्यतालिका बनाउन एक वर्षको अवधि थप्नुपर्छ । अवधि थपेपछि कार्यतालिका बनाउने काम निर्वाचन समितिको हो । महाधिवेशन कार्यतालिका नबनाउने कहाँ भन्या छ र?’, उनले भने।

पार्टीका केन्द्रीय सदस्य हृदयराम थानीले प्रजातान्त्रिक पार्टीभित्र लाइभ म्याण्डेडका कुराहरु आउने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। ‘जीवन्त पार्टीभित्र लाभइ म्याण्डेडका कुराहरु आउन सक्छन् । यसलाई प्रजातान्त्रिक पार्टीभित्र केही मान्ने कुरा पनि छैन् । अन्ततः हाम्रो उद्देश्य एउटै हो, हामी पुग्ने विन्दु एउटै हो । त्यसैले एकजुट भएर जाने परिस्थिति निर्माण गर्नुपर्छ’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *