ब्रेक्जिट बहस अन्त्य हुने विश्वास
लनडन (बीबीसी) । बmेलायती प्रधानमन्त्री बोरिस जोनसनले आम निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गरेपछि अब छिट्टै ब्रेक्जिट बहसको ‘अन्त्य’ हुने आशा व्यक्त गरेका छन् । उनको कार्यालय र निवास रहेको डाउनिङ स्ट्रीटमा बोल्दै उनले कन्जर्भेटिभहरूलाई मतदान गरेका लेबर समर्थकहरूले उनीमाथि प्रदर्शन गरेको समर्थनको ऋण तिर्ने बताए । उनले यूरोपसँग ‘बराबर सार्वभौम’का आधारमा सहकार्य विकास गर्ने र ब्रेक्जिटको विरोध गर्नेहरूलाई नजरअन्दाज नगर्ने बताएका छन् ।
कन्जर्भेटिभहरूले हाउस अफ कमन्समा सन् १९८७ यताकै सबभन्दा ठूलो बहुमत प्राप्त गरेपछि जोनसनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । ‘त्यसको अर्थ ब्रिटेन यो महिनाको अन्त्यसम्ममा ब्रेक्जिटबाट बाहिरिनेछ,’ बीबीसीकी राजनीतिक मामिला सम्पादक लउरा क्यून्सबर्ग भन्छिन् – ‘जोन्सनको राम्रो बहुमतले केही हप्ताभित्रै ब्रेक्जिटबाट बाहिरिनका लागि आवश्यक कानून संसदबाट पाउन बाटो खुला हुनेछ ।’
कन्जर्भेटिभहरूले संसद्मा ३६५ सिट हात पारेका छन् । लेबरले २०३ हात पारेको छ । एसएनपीले ४८ सिट जितेको छ भने लिबडेमहरूले ११ तथा डीयूपीले आठ सिट पाएका छन् । त्यसैगरी सीन फेनसँग सात, प्लेइड सीम्रु चार, नर्दर्न आयरल्यान्डको एसडीएलपीले दुई तथा द ग्रीन पार्टी र एनईको अलायन्स पार्टीले एक एक जितेका छन् । यूरोपेली संसदको पार्टीको चुनावमा विजयी ब्रेक्जिट पार्टीले वेष्टमिन्स्टरमा एक सीट पनि प्राप्त गर्न सकेन । कन्जर्भेटिभले लेबरको परम्परागत रूपमा बलियो ठाउँहरू मध्यतिर इङ्गल्यान्डको उत्तरतिर तथा वेल्समा विजय प्राप्त गर्न सफल भएको थियो । मतदान प्रतिशत ६७.३५ थियो जुन २०१७ को तुलनामा १.५५ले कम हो ।
आफ्नो निवास बाहिर जिन्दगीभर लेबर समर्थक रहेका तर जेरेमी कोर्बिनको पार्टी छोडेर कन्जर्भेटिभलाई मत हालेकाहरूलाई जोनसनले जनवरी ३१ मा यूकेलाई ईयूबाट बाहिर्याउने उनको प्रतिबद्धता पूरा गर्ने बताए । ‘हामीमाथि तपाईँहरूले दिएको विश्वासका लागि धन्यवाद दिन चाहन्छु र हर क्षण काम गरेर तपाईँहरूको विश्वासको ऋण तिर्नेछु ।’ जोन्सनले त्यसअघि महारानीको सरकार बनाउन गरिएको आमन्त्रण स्विकारेका थिए र कन्जर्भेटिभलाई मत दान नगरेका र अझ पनि इयूमा रहन चाहनेहरूलाई पनि धन्यवाद दिएका थिए । उनले भने, ‘कन्जर्भेटिस सरकारले यूरोपका अरू राष्ट्रप्रति तपाईँहरूका सकारात्मक असल र न्यानो धारणाप्रति नजरअन्दाज गर्नेछैन ।’
Facebook Comment