अमेरिकी विषेश प्रतिनिधिद्वारा पाकिस्तानमा भेटवार्ता
इस्लामावाद (रासस/एएनआई) । अफगानिस्तानका लागि अमेरिकी विषेश प्रतिनिधिको टोलीले पाकिस्तानमा सरकारी अधिकारीसँग भेटवार्ता गरेको छ । विषेश प्रतिनिधि जल्मे खलिलजादले पाकिस्तान भ्रमणका क्रममा शुक्रबार सरकारी अधिकारीलाई तालिबानी लडाकूसँग भइरहेको शान्ति वार्ताको पछिल्लो अवस्था जानकारी गराएका थिए ।
पाकिस्तानस्थित अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा विषेशप्रतिनिधि खलिलजादले पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेशी, प्रधानसेनापती क्वामर जाभेद बाजवालगायतसँग भेटवार्ता गरेको उल्लेख गरिएको छ । अमेरिकाले तालिवान लडाकूसँग गरिरहेको शान्ति वार्ताको प्रगतिका बारेमा खलिलजादले उनलाई जानकारी गराएका थिए । विषेशप्रतिनिधि खलिलजादले अफगानिस्तान र तालिबानी लडाकूको बीचमा सम्झौता गराउन लागेको र त्यसमा सहयोगको अपेक्षा गरेको पाकिस्तानी अधिकारीसँग बताएका थिए ।
शान्ति वार्ता सफल भएमा यस क्षेत्रको आर्थिक तथा सुरक्षा मामिलामा हुने फाईदाका बारेमा पनि उहाँहरुबीच छलफल भएको वक्तव्यमा जनाइएको छ । तालिबानी लडाकूको तर्फबाट गत आइतबार तीन महिनापछि दोहामा वार्ता गर्ने घोषणा भएको थियो ।
Facebook Comment