कर्मचारी अभावका कारण सेवा अवरूद्ध

डिसी नेपाल
२९ मंसिर २०७६ १९:४२

डाेटी । राजपुरमा स्थापना गरिएको यातायात व्यवस्थासेवा कार्यालय कर्मचारी अभावमा हिजोआज सुनसान जस्तै बनेको छ । जिल्लामा उक्त कार्यालय स्थापना भएको कम्तीमा पनि पाँचवर्ष वितिसक्दासमेत कर्मचारी अभावका कारण पूर्णरुपमा कार्यालयको सेवा सुचारु हुन सकेको छैन ।

यहाँका पहाडी जिल्ला डोटी, अछाम र बाजुराका सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले स्थापना भएको उक्त कार्यालयमा हाल दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति नहुदाँ सेवा प्रवाहमा समस्या देखिएको हो । आठौं तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचना अनुसार स्थापना गरिएको उक्त कार्यालयमा गत साउन महिनादेखि कार्यालय प्रमुख नै छैनन् ।

संरचना अनुसार आठौं तहको कार्यालय प्रमुख, छैटौं तहको अधिकृत एक, पाँचौं तह एक, चौंथो तह एक, मेकानिकल सुपरभाइजर र कार्यालय सहयोगी दुई गरी कूल सातको दरबन्दी रहेको उक्त कार्यालयमा हाल छैटौँ तहअधिकृत एक, सहायक पाँचौँ एक, चौथो एक र कार्यालय सहयोगी एक जना मात्रै कर्मचारी रहको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताए । यातायात व्यवस्था सेवा कार्यालयमा स्थापना भएको पाँच वर्ष बित्दा पनि यातायात व्यवसायीले सेवा लिन कैलाली जानुपर्ने बाध्यता कायमै रहेको शैलेश्वरी यातायात व्यवसायी समितिका कर्मचारी टेकबहादुर शाहले बताए।

उक्त कार्यालयमा सवारी दर्ता नवीकरण, नामसारी, सवारी चालक अनुमतिपत्र जारी र नवीकरण गर्ने, बाटो इजाजतपत्र जारी तथा नवीकरण गर्ने, यातायात सेवा पञ्जीकृत, सवारी जाँचपास, सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट जारी भएका चालक अनुमतिपत्र नवीकरण, पट्के बाटो इजाजत, सवारी अनुगमनलगायत कार्य गर्नका लागि स्थापना गरिएको भए पनि हाल कार्यालयले चालक अनुमतिपत्र नवीकरण, बाटो इजाजत नवीकरण, पट्के बाटो इजाजत, पञ्जीकरणका काम मात्रै गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *