माछापुच्छ्रेलाई साक्षी राखेर पोखरालाई खेलकूद राजधानी बनाउने प्रण

डिसी नेपाल
२९ मंसिर २०७६ २०:२३

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माछापुच्छ्रे हिमाललाई साक्षी राखेर पोखरालाई खेलकूदको राजधानी शहर बनाउने सरकारले प्रण गरेको बताएका छन् ।

आइतबारदेखि शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रकृतिको वरदानको रुपमा रहेको पोखरा समग्र नेपाल तथा एशियाली राष्ट्रको समेत खेलकूद शहरको रुपमा विकास हुन सक्ने सम्भावना औँल्याएका छन् ।

पोखरालाई पर्यटनका साथै खेलकूद, शिक्षा र स्वास्थ्यको राजधानी बनाउने योजनाअनुसार सरकारले पाँच वर्षभित्रमा खेलकूदको जग बसाल्ने तथा आवश्यक खेल संरचना निर्माण गरेर स्पोर्टस कम्प्लेक्सलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना सुनाए। पिपिएलले पोखरालाई चिनाउने काममा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले खेलकूदको विकासका लागि खेलको व्यावसायिकरण, खेल संरचना निर्माण र तल्लो तहबाटनै खेलकूदप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए।

उनले भने, “खेलको व्यावसायिकरण, खेल संरचना निर्माण र सानो उमेरदेखि नै बालबालिकालाई खेलमा आकर्षित नगर्दासम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा खरो उत्रिन सकिँदैन । विश्वस्तरीय खेलमा स्पर्धा गर्ने लक्ष्य राखिनुपर्दछ ।” उनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्यमा क्रिकेट विकासका कार्य थालनी गरिने उल्लेख गरे ।

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष दीपक कोइरालाले खेलकूद खेलसँग मात्र सम्बन्धित नरहेको चर्चा गर्दैै यसका माध्यमबाट आर्थिक समृद्धि हासिल हुने भएकाले खेलकूद राज्यको प्रमुख प्राथमिकताको क्षेत्रमा पर्नुपर्ने बताए ।

नेपालले विश्वका अन्य देशहरुसँग स्पर्धा गर्न सक्ने क्षेत्र खेलकूद रहेकाले समेत क्षमतावान खेलाडी उत्पादन गरी राष्ट्रको शीर उच्चो बनाउने कार्यमा सरकारले ध्यान दिनुपर्ने धारणा उनको छ । राष्ट्रिय खेलकूद परिषद्रा(खेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरामा आगामी दुई वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्नेका लागि एउटा १३ हजार दर्शक क्षमता र अर्को २० क्षमताका गरी दुई वटा डिपीआर तयार रहेको बताउँदै केही समय भित्रमा नै त्यसको टुङ्गो लगाएर काम शुरु गरिने बताए।

पोखरामा महत्वपूर्ण खेलका अन्तर्राष्ट्रियस्तरका पूर्वाधार निर्माणसँगै उनले गण्डकी प्रदेशलाई नै ‘स्पोर्टस हव’को रुपमा विकास गर्न सकिने सम्भावना औँल्याए। प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्वी लामाले प्रतियोगिताले क्रिकेट खेल प्रतिको आकर्षण बढाउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनसमेत मद्दत पुग्ने भएकाले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *