भारतमा विद्यार्थीमाथि पुलिस दमन, विश्वविद्यालयमै छिरेर निर्घात कुटपिट (भिडियो)

डिसी नेपाल
३० मंसिर २०७६ ११:००

नयाँ दिल्ली। नागरिकता कानुनको विरोधमा भारतमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि पुलिसले दमन गरेको छ । पुलिसले विश्वविद्यालयभित्रै छिरेर विद्यार्थीहरुलाई निर्घात कुटपिट गरेको छ । दिल्लीको जामिया विश्वविद्यालयमा पुलिसले ठूलो संख्यामा विद्यार्थीहरुमाथि आक्रमण गरेको हो । दिल्लीका अलावा अलीगढ, बनारस र बंगालको जाधवपुर विश्वविद्यालयमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पुलिसको दमनको विरोधमा विद्यार्थीको प्रदर्शन अन्य विश्वविद्यालयतिर पनि फैलिँदै गइरहेको छ ।

अलिगढ मुस्लिम युनिभर्सिटीका छात्रहरुमाथि पुलिसले लाठीचार्ज गरेको छ । यसमा ६)० भन्दा धेरै विद्यार्थी घाइते भएका छन् । प्रशासनले आज राती १० बजेसम्मको लागि अलीगढमा इन्टरनेट बन्द गराएको छ । पश्चिमी उत्तर प्रदेशका ६ जिल्ला मेरठ, बुलंदशहर, कासगंज, बागपथ, सहारनपुर र बरेलीमा धारा १४४ लागू गरिएको छ । अलीगढ मुस्लिम युनिभर्सिटी र जामिया युनिभर्सिटीमा प्रशासनले ५ जनवरीसम्म विदा घोषित गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार अब्दुल हमिदका अनुसार आइतबार राती होस्टलमा बस्ने विद्यार्थीहरुलाई होस्टल खाली गरेर बाहिर पठाइएको छ । उनीहरुलाई बस र ट्रेनबाट घर पठाउने व्यवस्था गरिएको छ ।

पुलिसमा एडिजी अजय आनन्दले स्थिति नियन्त्रणमा भएको बताएका छन् । शहरभरी पुलिस परिचालन गरिएको छ । जामिया हिंसापछि दिल्लीका उपमुख्यमन्त्री मनीष सिोदियाले सोमबार ओखला, जामिया, न्यू फ्रेण्डस कोलोनी र मदनपुर खादर क्षेत्रका सबै सकुल बन्द गर्न निर्देशन दिएका छन् । हिंसापछि दिल्लीमा १४ मेट्रो स्टेशन खाली गराइएको थियो जसलाई सोमबार बिहान सुचारु गरिएको छ । जामिया विश्वविद्यालयको विद्यार्थी संगठनका अनुसार सय भन्दा धेरै विद्यार्थी घाइते भएका छन् र एक जना विद्यार्थीको ज्यानै गएको छ ।

पुलिसले विश्वविद्यालयभित्रै छिरेर विद्यार्थीहरुलाई निर्घात कुटपिट गर्दै नियन्त्रणमा लिएको थियो । विरोध चर्किएपछि पुलिसले नियन्त्रणमा लिएका विद्यार्थीलाई छाडेको छ । विश्वविद्यालयकी कुलपति नजमा अख्तरका अनुसार विद्यार्थीले नभइ छिमेकको टोलका मानिसहरुले तोडफोड गरेका थिए तर पुलिस विश्वविद्यालयभित्रै छिरेर विद्यार्थीमाथि दमन गर्न थालेपछि झडप भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *