पीपीएल : सुपर ओभरमा काठमाडौंमाथि बुटवलको जित
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा बुटवल ब्लास्टर्सले विजयी सुरुवात गरेको छ। बुटवलले काठमाडौं गोल्डेन वारियर्सलाई सुपर ओभरमा पराजित गरेको हो।
पोखरा रंगशालामा सुपर ओभरमा १३ रनको लक्ष्य पछ्याएको काठमाडौंले मात्र २ रन बनाउन सक्यो।
निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको थियो। यस अघि, काठमाडौंले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो।
बुटवलका हर्ष टोकले सर्वाधिक ४५ रन बनाए। उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। शिवम सिंहले ३२ रनको नटआउट पारी खेले। यस्तै, शंकर राना २०, अफ्ताबुदीन अमेद १४, भिम सार्की १३ रन, कप्तान सोमपाल कामीले ११ रनको योगदान गरे।
काठमाडौंका सुशन भारी र सुबोध भाटीले समान २–२ विकेट लिए। अन्तिम ओभरमा बुटवललाई ९ रन चाहिएको अवस्थामा काठमाडौंका पवनले ८ रन खर्चेर १ विकेट लिएपछि खेल सुपर ओभरमा पुगेको थियो। अन्तिम बलमा १ रन आवश्यकको रहेको बेला बिपिन खत्री स्टम्पिङ भएका थिए।
यसअघि, पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो। उसका पवन सर्राफले सर्वाधिक अविजित ३७ रन बनाए। आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै, जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्मान १५–१५ रन जोडे। बुटवलका नितेश थापाले २ विकेट लिए। यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान १–१ विकेट हात पारे।
दुई खेलमा दुई हार व्यहोरेको काठमाडौंको लागि अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ। प्रतियोगिताको तेस्रो दिन मंगलबार पोखरा पल्टन र चितवन राइनोजबीच खेल हुनेछ।
Facebook Comment