पूर्वराजा ज्ञानेन्द्र बुधबार झापा जाँदै
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणबाट फर्किएको करिब तीन सातापछि पूर्वाञ्चल भ्रमणमा निस्कन लागेका छन्। उनी पूर्वरानी कोमल र निजी सचिव सागर तिमल्सिनाका साथ बुधबार २ गते झापा जान लागेका हुन्।
करिब एक महिना लामो बसाइका निम्ति झापा जान लागेका ज्ञानेन्द्रले विभिन्न मठ–मन्दिरमा दर्शन र पूजाआजा गर्ने कार्यक्रम रहेको छ। ११ बजे बुद्ध एयरको जहाजबाट भद्रपुर जाने कार्यक्रम रहेको छ। सुरक्षा बन्दोबस्तीका लागि उनका अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी राजन गुरागाईंसहितको टोेली झापा पुगिसकेको छ।
करिब २५ जनाको कन्भे टोली आइतबार झापा पुगिसकेको छ। आफ्नो स्वामित्वमा रहेको हिमालय टि स्टेटमा बस्ने गरी पूर्वाञ्चल भ्रमणमा निस्कन लाग्नुभएका ज्ञानेन्द्रले त्यहाँ राप्रपाका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ।
स्रोतका अनुसार उनको भ्रमण सफल पार्न राजधानीबाट समेत केही टोली झापा जाने भएको छ। उनले विभिन्न दर्जाका नेता, पूर्वराजावादी युवा संघ–संगठन विश्व हिन्दू युवा संघलगायतका संघ–संगठनका नेता र कार्यकर्तासमेत भेट्ने कार्यक्रम रहेको छ।
‘अहिलेसम्म कुनै पनि कार्यक्रम सार्वजनिक भएको छैन, यहाँ आएपछि सबै कार्यक्रम सार्वजनिक होला।’ –स्रोतले भन्यो। झापा बसाइसँगै उनले पूर्वका विभिन्न जिल्लाको समेत भ्रमण तय गरेका छन्। पूर्वराजाको निजी सचिवालयले उहाँको निजी भ्रमण भएको जनाएको छ। तर, आफ्नै स्वामित्वमा रहेको टि हाउसमा बस्दा उहाँले राजावादीसँग भेट गर्ने कार्यक्रम रहेको छ। नेपाल समाचारपत्र दैनिक
Facebook Comment