बंगलादेशी विदेशमन्त्रीले भने – ‘भारतीयहरु सित्तैमा खानका लागि बंगलादेश आइरहेका छन्’
काठमाडौं। बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनले आइतबार एक बयानमा भारतीयहरु सित्तैमा खान पाउने भएकोले बंगलादेश आउने गरेको बताएका छन् । मोमेनले भारतको अर्थव्यवस्था भन्दा बंगलादेशको अर्थ व्यवस्था सुदृढ भएकोले भारतीयहरुले उनको देशमा घुसपैठ गरिरहेको बताए । भारतले अवैध रुपमा आफ्नो देशमा बंगलादेशीहरु आएर बसोवास गरेको भन्दै हालै नयाँ नागरिकता कानुन बनाएको र सिंगो भारतमा त्यको विरोध भइरहेको सन्दर्भमा बंगलादेशी विदेश मन्त्रीको यो बयानलाई कुटनैतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
बंगलादेशी मिडिया द डेली स्टारका अनुसार विदेशमन्त्री मोमेनले भारत र बंगलादेशकोसम्बन्ध भने सुमधुर भएको बताएका छन् । मोमेनले भने ‘केही दलालहरुको सहयोगमा भारतीयहरु यहाँ अवैध तरिकाले बसिरहेका छन् जलाई देशबाट बाहिर निकालिनेछ ।’ बंगलादेशमा थिति भारतको तुलनामा राम्रो भएकोले भारतीयहरु अवैध तरिकाले आएको उनले बताए । उनले अगाडि भने ‘जो अवैध रुपमा यहाँ आइरहेका छन् उनीहरुले काम पाइरहेका छन् । खासगरी गरिबहरुले सित्तैमा खान पाइरहेका छन् ।’
विदेशमन्त्री मोमेनका अनुसार केही दलालहरुले गरिब भारतीयहरुलाई बंगलादेशमा सित्तैमा खान पाइन्छ भनेर फकाइरहेका छन् । डा. मोमेनले भने ‘भारत सरकारले बारम्बार दोहोर्याइरहेको छ कि उसले कुनै पनि अवैध शरणार्थीलाई बंगलादेश फिर्ता जान बाध्य पार्ने छैन । हामीले भनेका छौं यदि कोही बंगलादेशी भारतमा अवैध तरिकाले बसिरहेका छन् भने हामीलाई सूचना दिनुहोस्, हामी प्रक्रियाको पालना गर्दै उनीहरुलाई आफ्नो देश फिर्ता ल्याउनेछौं ।’ उनले बंगलादेशका नागरिकलाई आफ्नो घर फर्किने अधिकार भएको भन्दै अन्य कुनै देशका नागरिक अवैध तरिकाले बंगलादेशमा बसिरहेको भए उनीहरुलाई पनि आफ्नो देशबाट निकाल्ने बताए । -एजेन्सीको सहयोगमा
Facebook Comment