आफ्ना मन्त्रीले कान्छी प्रधानमन्त्रीलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाकी राष्ट्रपतिले माफी मागिन्

डिसी नेपाल
१ पुष २०७६ १५:४२

हेलसिन्की। आफ्ना मन्त्रीले विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छन्। केही दिनअघि एक रेडियो अन्तरवार्तामा इस्टोनियाका आन्तरिक मन्त्री मार्ट हेल्मीले फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्री मरिनलाई ‘सेल्स गर्ल’ भनेका थिए।

‘हामी देख्न सक्छौ कसरी एक सेल्स गर्ल प्रधानमन्त्री बन्छिन्’, हेल्मीले भने,’कसरी केही सडक अभियान्ताहरु र अन्य अशिक्षित व्यक्तिले उनको मन्त्रिपरिषदमा सामेल हुन्छन्।’ मरिनको मन्त्रिपरिषदमा अधिकांश महिला मन्त्री छन् भने चार जनाको उमेर ३५ वर्षभन्दा कम छ। राष्ट्रपति कालजुलेडले हेल्मीका तर्फबाट माफी मागेकी हुन्। साथै उनले हेल्मीको भनाइले आफू लज्जित भएको बताएकी छन्।

मरिनले ट्वीटरमा विश्वविद्यालय जानुअघि आफूले क्यासियरको काम गरेको लेखेकी थिइन्। सामान्य आर्थिक अवस्था भएका बच्चाले पनि फिनल्याण्डमा कसरी आफ्नो सपना पूरा गर्न सक्छन् भन्नेमा उनको ट्वीट केन्द्रीत थियो। सोही कुरालाई लिएर रूसका लागि पूर्वराजदूतसमेत रहेका हेल्मीले मरिनको खिल्ली उडाएका हुन्। तर अहिले उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ। विपक्षी सांसदहरूले हेल्मीको राजीनामासमेत मागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *