छायाँ सरकारकी श्रममन्त्रीको आरोपः सरकारले श्रम सम्झौता गर्छ तर कार्यान्वयन गर्दैन

डिसी नेपाल
१ पुष २०७६ १६:०८

काठमाडौं । कांग्रेस नेतृ एवं छायाँ सरकारकी श्रम मन्त्री डा. डिला संग्रौलाले नेकपा नेतृत्वको सरकारले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताएकी छिन् ।

श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनम संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत आरोप लगाएकी छिन् ।

उनले सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्न पनि उनले माग गरिन् । दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि पूँजीपतिहरुको हालिमुहाली रहेको उनको तर्क थियो ।

फ्रि भिसा फ्रि टिकट नेपाली कांग्रेसको नीति भएको र अहिलेको सरकारले शून्य लागतका नाममा सुरु भएपनि कामदारहरुले दुःख पाईरहेको उनको भनाई थियो । संग्रौलाले सामाजिक सुरक्षा कोषको सुरुवात भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको बताइन् । प्रधानमन्त्रीले आफ्नो फोटो पोलपोलमा टाँस्न लगाएर नयाँ युगको सुरुवात भयो भन्दै भड्कीलो प्रचार मात्रै गरेको र कार्यान्वयन फितलो भएको उनको भनाई छ ।

उनले सुरक्षा कोषमा सरोकारवालाहरु नै छुटेको दाबी गर्दै सरकारको धारणासमेत मागेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *