सभामुख चयनको प्रकृया लम्याउन नहुनेबारे स्थायी कमिटी बैठकमा छलफल

डिसी नेपाल
१ पुष २०७६ १८:०५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ ।

गत मंसिर २९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए । आगामी पुसको ४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको उनको भनाई थियो । नेता रावलले पार्टी भित्र देखिएका गुट उपगुटहरु अन्त्यगरी केन्द्रीय कमिटी बैठकसम्म सबै एकरुप भएर अगाडी बढ्नुपर्ने धारणा सदस्यहरुले राखेको बताए ।

मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसमेत गरी १४ जनाले आफ्नो विचार राखेका थिए । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनमाथि सदस्यहरुले आलोचनात्मक टिप्पणी राखेको प्रवक्ता नारायणकाजी श्रेठले बताए । बैठकमा उठेका कतिपय विषयहरुमा बैठकपछि पनि छलफल गर्न सकिने विचार व्यक्त भएको उनले बताए ।

स्थायी कमिटी बैठकमा आमन्त्रित सदस्यहरु नन्द कुमार प्रसाईं र विष्णु प्रकाश श्रेष्ठले आफ्नो धारणा राखेको बताइएको छ ।

त्यसैगरी, सुरेन्द्र पाण्डे, अमृत बोहरा, वेदुराम भूसाल, शंकर पोखरेल, केशव बडाल, रघुवीर महासेठ, लेखराज भट्ट, मणि थापा, जनार्दन शर्माले विचार राखेका थिए । बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *