बेलायतको बेरोजगार दर सन् १९७४ पछिकै कम
लण्डन । बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगष्ट–अक्टोबर) मा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङक अनुसार बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् । सन् २०१८ को सोही अवधिको तुलनामा यो सङ्ख्या ९३ हजारले कमी हो भने पाँच वर्ष पहिलेको सोही अवधिभन्दा यो सङ्ख्या छ लाख ७३ हजारले कमी हो ।
“विगत छ वर्षमा बेलायतको बेरोजगार दर सामान्य गतिमा घटिरहेको छ,” तथ्याङ्क कार्यालयले जनाएको छ ।
यसैबीच बेलायतमा रोजगार दर ७६.२ प्रतिशत रहेको पनि अध्ययनले बताएको छ । यो दर गत वर्षको अगस्ट–अक्टोबरको तुलनामा ०.४ प्रतिशत अङ्कले वृद्धि हो । बेलायतमा ८०.४ प्रतिशत पुरूष रोजगार रहेका छन् भने महिलाको रोजगार दर ७२.० प्रतिशत देखिएको छ ।
पछिल्लो समय महिलाहरूको रोजगार दरमा देखिएको वृद्धिमा आंशिक रूपमा राज्यले महिलाका लागि सेवा निवृत्त हुने उमेर हदलाई बढाउनु पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ । बेलायतमा महिलाहरूले सक्रिय जागिरे जीवनबाट ६० देखि ६५ वर्षको उमेरमा विदा लिने गरेका तथ्याङ्कमा उल्लेख छ ।
Facebook Comment