परवेज मुशर्रफलाई के अपराधका लागि फाँसी दिइँदैछ? उदयदेखि पतनसम्मको पूरा कहानी

डिसी नेपाल
२ पुष २०७६ १०:४८

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफलाई हिजो पाकिस्तानको विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । मुशर्रफलाई देशद्रोहको अभियोगमा दोषी ठहर गरिएको हो । पाकिस्तानमा यसअघि पनि शासकहरुलाई मृत्युदण्ड दिइएको इतिहास छ । यसअघि पनि जुल्फिकर अली भुट्टोलाई फाँसीको सजाय दिइसकिएको छ । यद्यपि कुनै सैन्य प्रमुखलाई ‘हाइ ट्रिजन’ अभियोगमा दोषी पाइएको यो पहिलो पटक हो ।

पाकिस्तानमा ‘हाइ ट्रिजन’ अभियोगलाई निकै गम्भीर अपराध मानिन्छ र यो अभियोगमा दोषी ठहर भएमा मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन्छ । यसका लागि पाकिस्तानमा ‘हाइ ट्रिजन एक्ट–१९७३’ नामको कानुन छ । मुशर्रफसँग अब सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउने विकल्प बाँकी नै छ । यदि त्यहाँ पनि फाँसीको सजाय कायमै राखिएमा मुशर्रफले राष्ट्रपतिसमक्ष दया याचिका दायर गरी मृत्युदण्डको सजायमा माफी माग्न सक्छन् । यदि त्यहाँबाट पनि अपिल खारेज भएमा मात्र उनलाई मृत्युदण्ड दिने बाटो खुल्नेछ ।

मुशर्रफलाई सजाय सुनाउने इजलाको बेन्चमा ३ जना न्यायाधीश थिए । यसको नेतृत्व पेशावर हाइकोर्टका मुख्य न्यायाधीश वकाक अहमद सेठले गरेका थिए । उनीसँग बेन्चमा सिंध हाइकोर्टका न्यायाधीश नजर अकबर र लाहोर हाइकोर्टका न्यायाधीश शाहिद करिम थिए । फैसला २–१ को बहुमतले आएको हो । यस विषयमा फैसलाकोविस्तृत विवरणको प्रतिलिपि फैसला सुनाइएको ४८ घण्टामा जारी हुनेछ । अर्थात विस्तृत विवरण भोलि बिहीबार जारी हुनेछ ।

यो हाइ ट्रिजन केस सन् २००७ को घटनाक्रमका कारण सुरु भएको हो । त्यस वर्ष ३ नोभेम्बरमा मुशर्रफले पाकिस्तानमा इमरजेन्सी (संकटकाल) लगाएका थिए । उनीविरुद्ध यो मुद्दा २०१३ मा दर्ता भएको हो । मुशर्रफविरुद्ध यो मुद्दा दर्ता हुँदा पाकिस्तानमा नवाज शरीफ प्रधानमन्त्री थिए । नवाज उनै प्रधानमन्त्री हुन् जसलाई सेनाको बलमा पदबाट हटाएर सन् १९९९ मा परवेज मुशर्रफले देशमा सैनिक शासन लागू गरेका थिए ।

२०१३ मा अदालतमा दर्ता भएको मुद्दा लामो समय चल्यो । यही बीचमा मुशर्रफ उपचार गराउनको लागि भन्दै देशबाहिर गए । देशवाहिर जाँदा उनले आफ्नो देश फर्केर आउने बाचा गरेका थिए । पाकिस्तान छोड्नुअघि मुशर्रफले भनेका थिए ‘म कमाण्डो हुँ र आफ्नो मातृभूमिलाई प्रेम गर्छु । केही हप्ता वा महिनामा फर्केर आउनेछु ।’ तर मुशर्रफ फर्किएनन् ।

मुशर्रफ भारतको दिल्लीमा जन्मिएका हुन् । ११ अगष्ट १९४३ मा पुरानो दिल्लीको एक हवेलीमा मुशर्रफ जन्मिएका हुन् । मध्यम वर्ग, पढेलेखेको परिवार । पिता सैयद मुशर्रफुद्दीन अलिगढ मुस्लिम युनिभर्सिटीमा पढेका थिए । विदेश विभागको कार्यालयमा जागिर गर्थे । आमा जरीन पनि पढेलेखेकी थिइन् । त्यो जमानामा पनि उनले लखनउ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरेकी थिइन् । मुशर्रफले स्वयंले धेरै पहिले गरेको खुलासा अनुसार भारत पाकिस्तान विभाजनपछि भारतबाट मुसनमानहरुलाई लिएर जुन अन्तिम ट्रेन पाकिस्तान गएको थियो उनीहरुको परिवार त्यही ट्रेनमा पाकिस्तान गएको थियो ।

पाकिस्तानी सेनामा मुशर्रफ १९६१ मा प्रवेश गरेका हुन् । १९६५ को भारत पाकिस्तान युद्धका बेला मुशर्रफ सेकेण्ड लेफ्टिनेन्ट थिए । युद्धमा बहादुरी देखाएका कारण उनले मेडल पनि पाएका थिए । १९७१ को युद्धमा उनी कमाण्डो बटालियनमा कम्पनी कमाण्डर थिए । मे १९८८ मा पाकिस्तानमा पूर्व सैनिक प्रमुख जनरल जिया उल हक राष्ट्रपति थिए । त्यतिबेला पाकिस्तानको गिलगित प्रान्तमा विद्रोह भयो ।

यसलाई नियन्त्रणमा लिने जिम्मेवारी मुशर्रफलाई दिइयो । त्यतिबेला मुशर्रफ स्पेशन सर्भिसेज ग्रुपमा थिए । त्यतिबेला गिलगितमा शिया मुसलमानको बहुमत थियो । मुशर्रफ र उनका साथीहरुले शियाको बहुमतलाई अन्त्य गर्न डेमोग्राफीसँग खेलवाड गरे । रणनीतिअनुसार पंजाबी र पख्नुनहरुलाई गिलगिलमा बसाउने काम सुरु गरे । यस्तै रणनीति पाकिस्तानले बलुचिस्तानमा पनि अपनाएको थियो ।

१९९८ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले निकै हिसाब किताब गरेर मुशर्रफलाई सेना प्रमुख बनाए । तर यिनै मुशर्रफले नवाज शरीफलाई मुर्ख बनाएर, उनलाई श्रीनगरमा झहराउने सपना देखाएर कारगिलको युद्धमा धकेले । कारगिल युद्धमा भारतसँग जित्न नसकेपछि देशमा नवाजको स्थिति निकै खराब भयो । उनलाई मुशर्रफबाट खतरा महसुस हुन लागेको थियो । भनिन्छ, नवाज सही समय हेरेर मुशर्रफलाई पदबाट हटाउने तयारीमा थिए तर नवाजभन्दा पहिल्यै मुशर्रफले नै नवाजलाई प्रधानमन्त्रीबाट अपदस्थ गरे ।

त्यो दिन थियो –१२ अक्टोबर १९९९ । मध्यरातमा मुशर्रफ देशलाई सम्बोधन गर्न टिभीमा प्रकट भए । सेनाको वर्दी । आँखामा रिम वाला उनको सिग्नेचर स्टाइल चश्मा । मुशर्रफले पूरै पाकिस्तानलाई बताए– अब नवाज उनीहरुका प्रधानमन्त्री रहेनन् । नवाजलाई जेलमा हालियो । उनीविरुद्ध भ्रष्टाचार र मनी लण्ड्रिङ केस सुरु गर्ने कुरा भयो । तर नवाजको साउदी अरबसँग राम्रो सम्बन्ध थियो । भनिन्छ, साउदी र अमेरिकाको दबाबमा मुशर्रफले नवाजलाई रिहा गरेका हुन् ।

खतरामा रहेको मुशर्रफको सत्ताले सेप्टेम्बर २००१ मा सञ्जीवनी बुटी पायो । जतिबेला अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आक्रमण भयो । यसको जवाफमा अमेरिकाले अफगानिस्तानमा धावा बोल्यो । अफगानिस्तानमा पार पाउन अमेरिकालाई पाकिस्तानको साथ चाहिन्थ्यो । यो मुशर्रफको लागि निकै फाइदाजनक कुरा सावित भयो । अमेरिकालाई सहयोग गरेपछि पाकिस्तानको अर्थतन्त्र सुधार हुँदै गयो । नागरिकको पनि मर्थन पाउन थाले । स्वयंलाई लोकतान्त्रिक वैधता दिनको लागि मुशर्रफले निर्वाचन पनि गराए । तर विना विपक्षको निर्वाचनमा उनले सहजै जिते र आफूलाई राष्ट्रपति घोषित गरे ।

केही समयसमम्म सबथोक ठिक चलिरहेको थियो तर अचानक हालत बिग्रिन थाल्यो । २००७ को मार्च महिनामा मुशर्रफले पाकिस्तानका प्रधानन्यायाधीश इफ्तिकर चौधरीलाई बर्खास्त गरे । इफ्तिकरको बर्खासतगीको विरोधमा वकिलहरुले अभियान चलाए । विरोध उग्र हुँदै गयो । दुवै पक्षबीच आफ्नो शक्ति उपयोग गर्नेसम्मको स्थिति आयो । विपक्षी दलले पनि मौका देखे र इफ्तिकरको समर्थन गरे । कराँचीको ठूलो हिंसा भयो । त्यपछि लाल मस्जिदमा सेनाले हमला गर्यो । यसको बदला लिनको लागि आतंकवादी र कट्टरपन्थी संगठनले पनि हमला गराए ।

मुशर्रफको जमिन हल्लियो । अत्याधिक दबाबमा आएपछि मुशर्रफले ‘नेशनल रिकन्सिलेसल अर्डिनेन्स’ (राष्ट्रिय सम्झौता अध्यादेश) जारी गरे । यो बेनजीर भुट्टो र नवाज शरीफ जस्ता व्यक्तिहरुको लागि जीवनदान थियो । यो अध्यादेशमा मुशर्रफले यो आश्वासन दिएका थिए कि यदि उनीहरु पाकिस्तान फर्किए भने उनीहरुलाई कुनै नोक्सान पुर्याइने छैन । यसैको सहारामा बेनजीर र नवाज पाकिस्तान फर्किए । मुशर्रफसँग टक्कर लिनको लागि उनीहरु दुवैले हात मिलाए ।

मुशर्रफलाई २००८ को फेब्रुअरमिा चुनाव घोषणा गर्नुपर्यो । त्यतिबेला अहिलेका प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इंसाफ पनि चुनावी दौडमा थियो । इमरान चुनावको बहिष्कार गरिरहेका थिए । उनले मुशर्रफ हुँदासम्म निष्पक्ष चुनाव हुन सक्दैन भनिरहेका थिए । तर बेनजीर भने चुनाव बहिष्कारले मुशर्रफलाई फाइदा हुने तर्क गर्थिन् । उनी चुनावको पक्षमा डटेकी थिइन् । मुशर्रफ निकै खराब स्थितिमा आएका थिए । उनीमाथि सेना प्रमुखको कुर्सी खाली गर्न पनि दबाब थियो । यो दबाब र विपक्षसँग टक्कर लिन नवाजले ३ नोभेम्बर २००७ मा देशभर इमरजेन्सी लगाइदिए । यही इमरजेन्सी त्यो मुद्दा हो जसमा अहिले मुशर्रफलाई दोषी ठहर गरेर फाँसीको सजाय सुनाइएको छ ।

यही बेला डिसेम्बर २७ मा बेनजीर भुट्टोको हत्या भएपछि स्थिति झनै खराब भयो । बेनजीरको हत्याको विषयमा मुशर्रफमाथि औंल उठ्न थाले । दबाब यतिसम्म बढ्यो कि मुशर्रफले सेना प्रमुख पद छाड्नुपर्यो । उनले आफ्ना इन्टेलिजेन्स प्रमुख जनरल अशफाक परवेज कयानीलाई सेना प्रमुख बनाए । २००८ मा भएको चुनावमा बेनजीरको पाकिस्तान पिपुल्स पार्टीले जित्यो । बेनजीरको स्थान उनका पति आफि अली जरदारीले लिए ।

सत्ता गएपछि अप्रिल २००९ मा मुशर्रफ पाकिस्तानबाट निस्किए । पहिले लण्डनमा बसे त्यसपछि दुबइ सरे । मार्च २०१३ मा उनी पाकिस्तान फर्किएका थिए जतिबेला नवाज शरीफ पुनः प्रधानमन्त्री भइसकेका थिए । पाकिस्तान फर्किनासाथ उनलाई नजरबन्द गरियो । नवाज शरीफले १९९९ मा आफूसँग मुशर्रफले के गरेका थिए भन्ने बिर्सिएका थिएनन् । उनले मुशर्रफविरुद्ध मुद्दा चलाउन ढिलाइ गरेनन् । मुशर्रफलाई चुनाव लड्न अयोग्य घोषित गरियो । उनीविरुद्ध दर्जनभन्दा धेरै मुद्दामा सुनुवाइ चलिरहेको थियो ।

यस्तो लाग्यो नवाज मुशर्रफसँग ब्याजसमेत बदला लिनेछन् । तर, यही बीचमा मुशर्रफले सेना प्रमुखसँग आफ्नो सम्बन्धको प्रयोग गरे । एउटा नाटक सुरु भयो । मुशर्रफको टिम मुद्दाको सुनुवाइका लागि अदालत गइरहेको थियो । तर रुट डाइभर्ट गरेर पूरै टिम सैनिक अस्पताल पुग्यो । त्यहाँ मुशर्रफको सम्झौता भयो । सेना र गुप्तचर विभागले उनलाई सबै मुद्दामा जमानत दिलायो । २०१६ मा उपचारको लागि भन्दै पाकिस्तानबाट बाहिर जाने अनुमति पनि दिलाइयो । मुशर्रफले पछि भनेका थिए कि त्यतिबेला सेना प्रमुख रहेका रहिल शरीफले उनलाई पकिस्तानबाट बाहिर निस्किन सहयोग गरेका थिए ।

२०१८ को निर्वाचनभन्दा पहिले मुशर्रफ पाकिस्तानमा नभए पनि उनका पोस्टर देखिएको खबर फैलियो । खबरसँगै ‘मर्द कहिल्यै बुढो हुँदैन’ भन्ने नारा पनि फैलाइएको थियो । मुशर्रफ स्वयंले पनि अब आफू सत्तामा फर्किएमा पहिलेभन्दा धेरै स्वीकार्यता हुने दावी गरे । मुशर्रफले पहिले केही मानिसहरुले भ्रमका कारण आफूलाई तानाशाह सम्झिएको पनि बताए । २०१८ को चुनावमा पनि मुशर्रफले केही गर्ने कोसिस गरे । २३ पार्टीको गठबन्धन बनाएर आफूलाई त्यसको अध्यक्ष घोषणा गरे । तर, यो गठबन्धनमा केही यस्ता पार्टी थिए जसको नाम पनि पाकिस्तानीहरुले सुनेका थिएनन् र गठबन्धनमा भएका भनिएका केही पार्टीले पनि मुशर्रफसँग आफ्नो कुनै सम्बन्ध नभएको सफाइ दिएका थिए ।

न्यूयोर्क टाइम्सको एक रिपोर्टमा उल्लेख भएअनुसार मुशर्रफ जब सत्तामा थिए त्यतिबेला इस्लामाबादमा एउटा चुट्किला चर्चामा थियो । ‘मुशर्रफ र अल्लाहमा के फरक छ ?’ यो प्रश्न सोधेपछि चुट्किला सुनाउनेने आफैं जवाफ दिन्थे ‘अल्लाहलाई लाग्दैन कि उनी मुशर्रफ हुन् ।’ यो चुट्किलामा मुशर्रफको अति आत्मविश्वास झल्किन्छ । यही ओभर कन्फिडेन्स उनलाई भारी पर्यो । हुन त पाकिस्तानमा जो–जो शासक पतन भए, सबैको बर्बादीमा अति आत्मविश्वास एउटा कमन कुरा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *