प्रो–इण्डियन ‘फेक’ वेबसाइटहरुले भारतको हितमा यसरी फैलाउँदैछन् विश्वभर झुटो समाचार
काठमाडौं। प्रो–इण्डियन (जसरी पनि भारतको हित चाहने) फेक वेबसाइटहरु र प्रो इण्डियन थिंक ट्यांकहरुको विशाल विश्वव्यापी नेटवर्कले युरोपका देशहरुमा हुने ठूला निर्णयहरु प्रभावित पार्ने प्रयास गरिरहेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । बेल्जियमबाट संचालित इयु डिज्इन्फो ल्याब नामक गैर सरकारी संस्थाको रिपोर्टको हवाला दिँदै बीबीसीले लेखेअनुसार ६५ देशमा फैलिएर रहेका २६५ फेक वेबसाइटको नेटवर्कले यो काम गरिरहेको छ ।
अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार यी सबै वेबसाइट भारतीय कम्पनी श्रीवास्तव ग्रुपले संचालन गरिरहेको छ । यो नेटवर्क युरोपमा पाकिस्तान विरोधी लबिङ गर्ने समूहहरुसँग समेत आबद्ध भएको पाइएको छ । यद्यपि यो नेटवर्कको भारत सरकारसँग सम्बन्ध रहेकोबारे भने कुनै प्रमाण भेटिएको छैन । तर, अनुसन्धानकर्ताहरुले भने यो नेटवर्कको मुख्य प्रयोजन भारतको छिमेकी र प्रतिस्पर्धी पाकिस्तानविरुद्ध प्रोपोगाण्डा फैलाउनु रहेको विश्वास गरेका छन् ।
यी वेबसाइटहरुले भारतको हितका विषयमा लबिङ गर्ने खालका समाचारहरु ठूलो मात्रामा फैलाइरहेको पाइएको छ । यी वेबसाइटहरुले पहिले संचालनमा रहेका र अहिले बन्द भएका चर्चित पत्रिकाहरुको नाम प्रयोग गर्ने गरेका छन् ताकि उनीहरुको विश्वसनीयताको लाभ लिन सकियोस् । उदाहरणको लागि यीमध्येको एक साइटले आफ्नो नाम म्यान्चेस्टर टाइम्स राखेको छ । यसको ‘हाम्रो बारेमा’ भन्ने सेक्सनका म्यान्चेटर टाइम्स नामको पत्रिकाको बारेमा उल्लेख छ जुन कुरा विकिपेडियाबाट साभार गरिएको हो ।
यी वेबसाइटहरुले समाचार संस्थाका समाचारहरु जस्ताको तस्तै साभार गर्छन् ताकि यसले उनीहरुलाई समाचार साइटजस्तै देखाओस् । त्यसपछि उनीहरुले यिनै विश्वस्त समाचारहरुको बीचमा पाकिस्तानविरोधी समाचार र विचारहरु घुसाउँछन् । यी समाचार र विचारहरु भारतको हितमा काम गर्ने गैर सरकारी संस्थामा काम गर्ने कर्मचारीहरुले तयार पारेका हुन्छन् । टाइम्स अफ जेनेभा नामको वेबसाइटले ठूलो संख्यामा भिडियो सामग्री तयार गर्छ । यसको मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघमा निर्णायक तहका अधिकारीहरुलाई प्रभावित पार्नु देखिएको छ ।
Facebook Comment