मध्यपुर थिमीमा नवदुर्गा गणनाच (फोटोफिचर)

डिसी नेपाल
२ पुष २०७६ ११:४७

भक्तपुर । एक दशकपछि गतवर्षदेखि पुनः संचालन भएको ऐतिहासिक एवं सांस्कृतिक नवदुर्गा नाच(जात्रा) यस वर्ष पनि मध्यपुर थिमी नगरपालिकामा सम्पन्न भएको छ । मध्यपुर थिमी नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र ४ नम्बर वडाका वडाध्यक्ष कुमार श्रेष्ठको सक्रियतामा नवदुर्गा देवगणहरुको सुरक्षा, आर्थिक सहयोग, खाना, जलपान र बास बस्न उपयुक्त स्थान व्यवस्था गर्ने भएपछि जात्रा नियमित सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

मुख्यतया नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । जसमध्ये १३ जना विभिन्न देवी देवताहरु हुन्छ । नगदुर्गा देवगणमा काठको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः (महालक्ष्मी को प्रतिक) भनिन्छ । यो नाचमा देवगणले भैरव (कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, इन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृंगी) २ गरी १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । त्यसमा अन्य सहयोगीहरु समेत थप हुन्छ ।

नवदुर्गा देवगणका नकीं गणको मुख्य नाइकेको रुपमा रहन्छ । उसले देवगणलाई घर भित्र्याउने र घर बाहिर पठाउनेदेखि लिएर मानिसको जन्मदेखि मृत्युसम्मको संस्कार चलाउने र सिकाउने गर्दछ । त्यसैगरी महापात्रलाई त्रिपुरासुन्दरीको प्रतीकको रुपमा लिइन्छ । महापात्र नवदुर्गा देवगण नाचमा सबै दैत्यहरुको संहार गरी रगत थाप्ने विषेश खालको पात्रको रुपमा समेत रहेको छ ।

यो नाचमा मु बाहाको रगतमा चिउरा राखेर बनाएको धौवजी देवगणले ग्रहण गर्छ । नवदुर्गा नाचमा यो विधि भैरव र महाकालीले गर्छन् । त्यसकारण उनीहरु गणमा आमाबुबाका रुपमा पनि लिइन्छ । महाकालीले धौबजी वितरण गर्दा घरकी छोरीको रुपमा रहेकी कुमारीलाई भने दिइँदैन । यो गणनाचमा विशेषगरी प्रारम्भिक नाच, धान रोपाई नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरबको गा त्वःकेगु (खास्टो लुट्ने) नाच, खास्टो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेत भैरबको पेट दुख्ने नाचः(प्वाः स्याकिगु), समापन नाच प्रदर्शन गरिन्छ ।

मध्यपुर थिमीमा योःमरी पुन्हीको दिनदेखि सात दिनसम्म मनाइने यस गणनाचमा भक्तजनहरु देवगणलाई आफ्नो गच्छे अनुसार धान, गहुँ, मकै, योःमरी, तरकारी, खुर्सानी, मूलालगायत चढाउने प्रचलन छ । माटोको भाँडा उत्पादन गर्ने प्रजापतिले माटोको भाँडो देवगणलाई चढाउने गर्छन् । मध्यपुर थिमिको लाय्कु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोबु, चपाचो, नगदेश, बोडे, सूर्यविनायक वडा नम्बर ४ मा रहेको चित्रपुरसम्म नवदुर्गा नाच प्रदर्शन भएको थियो ।

तस्बीरः रमण मानन्धर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *