कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमा बनाए शतक
काठमाडौं। पोखरा प्रिमियर लिगमा ज्ञानेन्द्र मल्लले शतक बनाएका छन्। काठमाडौं गोल्डेन वारियर्सका कप्तान मल्लले धनगढी ब्लुजविरुद्धको खेलमा ३७ बलमा शतक बनाएका हुन् । टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौंका लागि ३७ बलमा ज्ञानेन्द्रले ८ चौका र ९ छक्कासहित १०० रन पूरा गरेका हुन्।
ज्ञानेन्द्रको यो शतक पिपिएलको पहिलो शतक हो। जारी दोस्रो संस्करणको चाैथो दिनसम्मको खेलमा कुनै पनि खेलाडीले १ सय रनको आँकडा पार गरेका छैनन्। धनगढी ब्लुजका कप्तान दिपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको काठमाडाैंले पहिलो विकेटको रूपमा गाैरव तोमरलाई शून्य रनमा गुमाएको थियो।
खराब माैसमका कारण खेल ढिला सुरु हुने भएपछि खेल १७ ओभरमा छोट्याइएको छ भने बढिमा दुई बलरले ४ ओभर बलिङ गर्न पाउनेछन्। त्यस्तै पावर प्ले पनि ५ ओभरमा छोट्याइएको थियो। यसअघि शनिबारबाट सुरु गर्ने भनिएको प्रतियोगिता पनि शुक्रबारको वर्षाका कारण आइतबारका लागि धकेलिएको थियोे।
यसअघिका दुई खेल हारेको काठमाडौं आजको खेलमा पहिलो जितको खोजीमा छ। उद्घाटन खेलमा साबिक विजेता पोखरा पल्टनसँग ९ विकेटको फराकिलो नतिजामा पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा स्तब्ध भएको थियो। पहिलो खेलमा विराटनगर टाइटन्सविरुद्ध ५ रनको रोमाञ्चक जित हासिल गरेको धनगढी सोही नतिजा दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रिएको हो।
Facebook Comment