पीपीएलमा ज्ञानेन्द्रको शतकसँगै काठमाडौँको शानदार जित

डिसी नेपाल
२ पुष २०७६ १३:३२

पोखरा । जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौँ गोल्डेन वारियर्सले शानदार जित निकालेको छ। बुधबार पहिलो जित निकाल्ने क्रममा काठमाडौँले धनगढी ब्लुजलाई १०६ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोड्यो। १८६ रनको लक्ष्य पछ्याएको धनगढीका कुनै पनि ब्याट्स्म्यान खुलेर खेल्न सकेनन् । श्रीमन्थ विजरत्नेले १५ र रोड्रिगो तोमसले १० रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

सौरभ खनाल ९ रनमा रनआउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरी ८ रनमै पेभिलियन फर्किए। त्यस्तै विक्रम ठगुन्नाले ९ रन जोडे। धनगढीलाई सस्तैमा रोक्न काठमाडौँका बसन्त रेग्मीले ३ विकेट लिए। कसिलो बलिङ गरेका उनले ४ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए। त्यस्तै पवन सर्राफ र सुबोथ भाटीले समान २÷२ विकेट हात पारे। अमृत भट्टराई र सुशन भारीको नाममा १-१ विकेट रह्यो।

यसअघि काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे। ३८ बलको सामना गरेका उनले ९ छक्का र ८ चौका हिर्काए। १७ ओभरमा छोट्याइएको खेलमा उनी कमलसिंह ऐरीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। त्यस्तै जयक्रिशन कोल्सावालाले ४६ रन जोडे। यसैगरी अमित श्रेष्ठले २१ बलको सामना गर्दै ३४ रन बनाए। काठमाडौँका ओपनर गौरव तोमर र सुबोथ भाटी शून्य रनमै आउट भए।

धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए। त्यस्तै सागर ढकालले १ विकेट हात पारे। यसअघि काठमाडौँ दुई खेलमा पराजित भएको थियो। धनगढीले भने पहिलो खेलमा जित हात पारेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *