सागमा पदक जित्ने खेलाडीलाई ललितपुर महानगरपालिकाद्वारा सम्मान
काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ। महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरुलाई बधाई दिँदै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि यो भन्दा ठूलो रकमले सम्मान गर्ने बताए।
खेल क्षेत्रमा ठूलो योगदान गर्न नसकेपनि ऐनमा उल्लेख भए अनुसारको काम महागरले गरेको उनले बताए। महानगरले फुटबलमा लागनी गरिरहेके उल्लेख गर्दै उनले एन्फामा दर्ता भएको क्लबहरुलाई टीम तयारी स्वरुप सहयोग गरेको बताए। उनले महानगरभित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजन क्लबहरुलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ तयारीका लागि दिइएको बताए।
सम्मान कार्यक्रममा स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौं उपत्यकाको सभ्यता १६ औं सताब्दीको युरोपियन सभ्यतासँग मेल खाने गरेको बताए। पाठनको कृष्णमन्दिर, काष्ठमण्डप तथा मूर्तिकलाको गरिमामय परम्परा रहेको उनले बताए।
एक फरक प्रशंगमा उनले प्रदेश र संघीय सरकारभन्दा स्थानीय सरकारलाई असाधारण अधिकार दिएकोले काम पनि असाधारण नै गरेर देखाउनुपर्ने बताए। ललितपुर महानगरले नगरपालिको १०० औं स्थापना दिवस पनि मनाएको छ।
Facebook Comment