साविक विजेता पोखरा विराटनगरसँग पराजित

डिसी नेपाल
२ पुष २०७६ १७:१४

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा साविक विजेता पोखरा पल्टन विराटनगर टाइन्टससँग पराजित भएको छ । बुधबार भएको खेलमा विराटनगरले पोखरालाई ४५ रनले पराजित गर्दै अघिल्लो चरणको संभावना कायमै राखेको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखरा पल्टन १९.५ ओभरमा एक सयमा रनमा अल आउट भयो ।

पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३२ रन बनाए। यस्तै कुशल भूर्तेलले २४ तथा आशिफ शेखले १३ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

विराटनगरको लागि तीब्र गतिका बलर किशोर महतोले३ विकेट लिए । त्यस्तै मोहम्मद जैद आलम तथा जितेन्द्र मुखियाले समान २–२ विकेट लिए । पुनित मेहरा, साहब आलम र नोमन खानले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । विराटनगरलाई बलियो अवस्थामा पुर्याउन भारतीय अलराउन्डर पुनित मेहराले २६ बलमा ५ चौका र ४ छक्का सहित ६१ रनमा अविजित रहे । यस्तै सुनिल धमलाले ३६ तथा मोहम्मद जैद आलमले २६ रन बनाए।

पोखराका कप्तान शरद भेषावकरले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र सर्वजीत लड्डाले १–१ विकेट लिए ।

पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा पोखरा चितवन राइनोजसँग ६ विकेटले पराजित भएको थियो । विराटनगर पहिलो खेलमा धनगढी एक्स्पर्ट ब्लुजसँग ५ रनले पराजित भएको थियो । चौथो खेलमा पोखराले शुक्रबार बुटवल ब्लास्टर्ससँग खेल्ने छ । शनिवार विराटनगरले काठमाडौंको सामना गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *