कुलदिपको ह्याट्रिकमा भारतको शानदार जित
एजेन्सी । पाहुना टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । विशाखापटनम बुधबार भारतले वेष्ट इण्डिजलाई १ सय ७ रनले पराजित गरेको हो ।
जितसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यस अघि चेन्नईमा भएको पहिलो खेलमा वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको थियो । भारतले दिएको ३ सय ८८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ४३ ओभर ३ बलमा अलआउट हुँदै २ सय ८० रन मात्र बनाउन सक्यो ।
वेष्ट इण्डिजका शाइ होपले ७८ रन जोड्दा निकोलस पुरनले ७५ रन बनाए । यस्तै किमो पाउले ४६ रन जोडे ।
वेष्ट इण्डिजलाई सस्तैमा समेट्न कुलदीप यादवले ह्याट्रिक विकेट लिए । उनले ३२ औं ओभरको चौथो बलमा शाइ होप, पाँचौ बलमा जासन होल्डर र छैटौं बलमा अल्जारी जोसेपको विकेट लिँदै ह्याट्रिक पुरा गरे । यससंगै कुलदीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई ह्याट्रिक लिने पहिलो भारतीय बलर बने ।
यस्तै मोहमद शामीले ३ तथा रबिन्द्र जडेजाले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ८७ रन बनाएको थियो । भारतका लागि रोहित शर्मा र लोकेश राहुलले शतकीय इनिङ्स खेले । रोहितले १ सय ५९ रनको शतकीय इनिङ्स खेल्दा राहुलले १ सय २ रन बनाए ।
यस्तै श्रेयस आयरले ५३ तथा ऋषब पन्तले १६ रन बनाए । वेष्ट इण्डिजका शेल्डन कोट्रेलले २ विकेट लिए ।
Facebook Comment