‘चालबाज’मा पुष्प र वर्षाको जोडी
काठमाडौं। केही दिनदेखि दार्जिलिङमा छायांकन भईरहेको चलचित्र ‘चालबाज’मा वर्षा शिवाकोटीको आगमन भएको छ।
चलचित्रमा यसअघि केकी अधिकारी फाइनल भएकी थिइन्। तर, उनी हाल चलचित्र ‘झिँगेदाउ’मा व्यस्त भएका कारण ‘चालबाज’ छाडनुपरेको हो। शुक्रबार केकी यो चलचित्रका लागि दार्जिलिङ पुग्ने तयारीमा थिइन्। तर, ‘झिँगेदाउ’ को छायांकन निर्धारित समयमा नसकिएपछि उनले ‘चालबाज’ गर्न असमर्थ भएकी हुन्।
अब केकीको ठाउँमा वर्षाले काम गर्नेछिन्।
यसअघि पनि यस चलचित्रका कलाकार परिवर्तन भएका थिए। शुरुमा नव–अभिनेता अविनाश प्रधानले चलचित्रमा काम गर्ने कुरा थियो। तर, उनले पारिवारिक कारण देखाउँदै यो चलचित्र छाडेपछि उनको ठाउँमा निर्माण टिमले अभिनेता पुष्प खड्कालाई अनुबन्ध गरेको छ। अब पर्दामा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको जोडी बाँधिनेछ। उनीहरु पहिलोपटक पर्दामा जोडी बन्न लागेका हुन्।
अरुण तामाङको लगानी र कैलाश राईको निर्देशनमा बनिरहेको चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ। चलचित्रमा बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको पनि अभिनय रहनेछ।
Facebook Comment