कांग्रेसभित्रको विवाद मिलाउन गच्छदार सक्रिय

डिसी नेपाल
३ पुष २०७६ १३:३८

काठमाडौं । भ्रातृ संस्थाको नेतृत्वका विषयमा सहमति जुट्न नसकेको बेला कांग्रेस उपसभापति विजय गच्छदार सक्रिय भएका छन्। गच्छदारले बिहीबार विहान एक घण्टा वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास पुगेर छलफल गरेका थिए। पौडेलसँगको छलफलमा गच्छदारले मुलुक भित्रको राजनीतिक चुनौतीको सामना गर्न पार्टी एक हुनुपर्नेमा जोड दिएका थिए।

कांग्रेसमा भातृ संस्थाको नेतृत्वका विषयको विवादले उग्र रुप लिँदा पौडेल पक्षधरले जारी केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ। यसअघि कांग्रेसभित्र कान्छो गुटको नेतृत्व गर्दै आएका पूर्व महामन्त्री कृष्ण सिटौलाले पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेका थिए। तर उनी सफल भएनन्।

कांग्रेसभित्र नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलको नेतृत्वका बारेमा सहमति जुट्न नक्दा केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दुई भ्रातृ संस्थामध्ये कुनै एकको नेतृत्व आफ्नो समूहले पाउनुपर्ने अडान राखिरहेको छ भने संस्थापन पक्षले तत्काल भ्रातृ संस्थाको मूलनेतृत्व इतर समूहलाई दिन सकिने अवस्था नरहेको बताउँदै आएको छ।

कांग्रेसको नर्सरीका रूपमा लिइने नेविसंघ गत माघबाट नेतृत्वविहीन छ भने तरुण दलको समयावधि मंसिरबाट सकिएको छ। गत बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको तदर्थ समिति गठन र तरुण दलको ६ महिना समयावधि थपका लागि एजेण्डा पेस गरिसकेका छन्।

पौडेल समूहले आगामी मंसिर महिनाभित्रै १४औं महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडान पनि यथावत राख्ने निर्णय गरेको छ । यद्यपि, नेताहरूले २/३ महिना तलमाथिले केही फरक भने नपर्ने संकेत गरेका छन्।

पौडेल समूहले संस्थापन पक्षले चाहेअनुसार पार्टीका केन्द्रीय विभाग गठनमा सहमत हुन नसकिने पनि अडान यथावत राखेको छ ।
पौडेल समूहले क्रियाशील सदस्यता छानविनका लागि गठन हुने समितिसमक्ष अहिलेसम्मका सम्पूर्ण क्रियाशील सदस्यहरूको नाम, संख्या र विवरण पनि दिनुपर्ने बताएको छ।

दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि गच्छदार सक्रिय भएका छन्। बिहीबार विहान वरिष्ठ नेता रामचन्द्र पौडेलसँग एक घण्टा लामो छलफल गरेको गच्छदारले अब सभापति शेरबहादुर देउवासँग छलफल गर्ने जानकारी आफूलाई दिएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *