प्याजको मूल्य वृद्धि भएपछि विकल्पमा मेथी र जिरा

डिसी नेपाल
३ पुष २०७६ १६:५३

पर्वत । प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ ।

प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले बताए । उनले भने “तरकारी तथा अचारमा प्याजको सट्टा जिरा, मेथी, दालमा लम्बु, प्रयोग गर्न सुरु गरेका छौ ।”

कुखुराको मासु र प्याजको मूल्यसमेत बराबरी जस्तै भएपछि होटलमा खान आउने ग्राहकलाई समेत प्याज प्रयोग नहुने परिकार खान आग्रह गरिदै आएको छ ।

पर्वतको ठूलीपोखरीकी राधा सापकोटाले भनिन्, “घरमा लगाएको प्याज असारमै सकियो । बजारमा महङ्गीले प्याज किनिसाध्ये छैन । अहिले लसुन, मेथी, जिरा पड्काउन थालिएको छ ।”

कटुवाचौपारीकी शोभा ढकालले पनि प्याज राखेको परिकार नखाएको लामो समय भएको बताइन् । “अघिल्लो वर्ष फलेका प्याज सकिए, बल्ल लगाउने सिजन भएको छ त्यसपछि खान पाईएला तर बजारबाट किनेर खाइसाध्ये नभएर किनिएको छैन । ”उनले भनिन् ।

कुश्मा बजारमा अहिले प्याजको मूल्य २०० रहेको छ । ग्रामीण बजारमा २२० सम्म लिने गरेका छन् । “प्याज निकै महङ्गो छ, खासै बिक्री हुँदैन”, कुश्मा बजारका किराना व्यवसायी दामोदर पौडेलले भने ।

निकै न्यूनमात्रामा बिक्री हुने र नाफा पनि खासै नहुने भएकाले तीन÷चार महिनादेखि प्याज बिक्री गर्नै छाडेको तरकारी व्यवसायी ज्ञानेन्द्र बास्तोलाले बताए । उनले भने, “प्याज खानभन्दा माछा मासु खान सस्तो भयो । आजकल त कसैले किन्दैनन् । बिक्री गर्न छाडियो । बरु प्याजको सट्टा जिरा र मेथीको बिक्री बढेको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *