नेकपा स्थायी कमिटी : सङ्गठनलाई एकताबद्ध र सुदृढ बनाउन नेताहरुको सुझाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक पाँचौँ दिनमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमा सदस्यहरुले धारणा राख्ने क्रम बिहिबार सकिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरुमाथि स्थायी कमिटीका सदस्यहरुले धारणा राखेका थिए।
प्रतिवेदनहरु परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावहरु राख्ने क्रममा आज १० जनाले सुझाव राखेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आज बोल्नेहरुमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ तथा स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, चक्रपाणि खनाल, सुवास नेम्वाङ, विष्णु रिमाल, भीम आचार्य रहेका थिए । अब पार्टी महासचिव विष्णुप्रसाद पौडेलले मात्रै प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि धारणा राख्न बाँकी छ ।
राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई कमीकमजोरी मुक्त गर्दै व्यवस्थित गर्ने, सङ्गठनलाई एकताबद्ध र सुदृढीकरण गर्ने, विचार, आचरण र व्यवहारमा सुधार गर्नेजस्ता विषयमा आ–आफ्नो कोणबाट वक्ताहरुले विचार, धारणा र आलोचना गर्नु भएको सो पार्टीको विज्ञप्तिमा जनाइएको छ ।
स्थायी समितिको अर्को बैठक यही पुस ५ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौँमा बस्नेछ । प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि प्रस्तुत धारणा, सुझाव र दृष्टिकोणलाई मध्यनजर गरी पार्टी अध्यक्षद्वयले परामर्श गरी निर्णयको तयारीका निम्ति शुक्रबार एक दिन बैठक स्थगित गरिएको जनाइएको छ ।
Facebook Comment