महिला फुटबलः भुटान र पुलिस सेमिफाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब र भुटानको राष्ट्रिय टोलीले सातौं प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । समूह बी मा लगातार दोस्रो जित दर्ता गर्दै दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
लगनखेलस्थित आर्मीको मैदानमा बिहीबार भुटानले प्रदेश २ लाई २–० ले पराजित गर्यो । पहिलो हाफमा १–० को अग्रता लिएको भुटानका लागि ७१ औं मिनेटमा सुनिता राईले गोल गर्दै जित सुनिश्चित गरिन् । अर्को खेलमा निशा सुनार एक्लैले ४ गोल गरेपछि पुलिसले प्रदेश ५ लाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो ।
खेलको १३ औं मिनेटमा पुलिसले अमृता जैसीको गोलमा अग्रता लिएको थियो । २० औं मिनेटमा निशाले अग्रता दोब्बर पारिन् । ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी निशाले ७६ औं मिनेटमा ह्याट्रिक पुरा गरिन्। त्यसको तेस्रो मिनेटमा नै गोल गरेकी निसाको चौथो गोलमा पुलिसले फराकिलो जित दर्ता गरेको हो ।
प्रतियोगितामा भोलि हुने एपीएफ र नेपाल आर्मीबीच प्रतिस्पर्ध हुनेछ । अर्को खेलमा प्रदेश १ र सिक्कीमबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।
Facebook Comment