दुई धर्मावलम्बीको एउटै मार्ग बन्दै कालीगण्डकी करिडोर

डिसी नेपाल
३ पुष २०७६ २२:३६

गलकोट । राष्ट्रिय गौरवको आयोजनामध्येको कालीगण्डकी करिडोर नेपालको मध्यभागबाट भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो । उन्नाइस वर्षदेखिको सपना नेपाली सेनाले करिडोर निर्माणको जिम्मा लिएसँगै साकार हुने भएको छ । त्रिवेणीधामदेखि चीनको सिमाना कोरला नाकासम्म करिडोरको ४ सय १७ किलोमिटरमध्ये लगभग सबै स्थानमा नेपाली सेनाले ट्र्याक खुला गरिसकेको छ भने अधिकांश स्थानमा निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण भइरहेको छ ।

कालिगण्डकी करिडोरलाई सरोकारवाला निकायले त्रिदेशीय सिधा सम्पर्क स्थापित गर्ने आर्थिक मार्गका रूपमा लिइरहेका छन् भने कालिगण्डकी करिडोर सरोकार समितिले यसलाई धर्मावलम्बी मार्गका रूपमा लिँदै आएका छन् । चीन र भारतलाई सिधा रूपमा जोड्ने करिडोर निर्माण सम्पन्न भए अब भारतका लाखौँ तीर्थयात्रीहरु नेपाल आएर रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्नेछन् भने चीनका बौद्धमार्गीहरु भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा आउने भएकाले यसलाई दुई धर्मावलम्बीहरुको एउटै मार्गका रूपमा लिँदै आएको कालिगण्डकी सरोकार समतिका संयोजक तथा सामाजिक अभियानकर्मी टीकाराम ढकालले बताए ।

“हामीले दुई देश जोड्ने सिधा मार्गको १९ वर्ष अगाडि गुल्मीबाट कल्पना गरेका थियौँ”, ढकालले भने “सेनाको सक्रियतासँगै करिडोर निर्माणको अन्तिम चरणमा पुगेका छौँ ।” ढकालका अनुसार करिडोरले पूर्णता पाएसँगै भारतका लाखौँ हिन्दू धर्मावलम्बीहरु मुस्ताङको मुक्तिनाथ पुग्नेछन् भने चीनका लाखौँ बौद्ध धर्मावलम्बीहरु लुम्बिनी आउनेछन् । दुई धर्मावलम्बीहरुलाई एउटै मार्गको प्रयोग गर्ने सबैभन्दा छोटो मार्ग कालिगण्डकी करिडोर बाहेक अन्य सडक नभएको बागलुङका सांसद डा सुर्य पाठकले बताए । उनका अनुसार दुई शक्तिशाली देशका बीचमा एक सशक्त आर्थिक मार्ग त बन्ने नै छ भने धार्मिक पर्यटन र व्यापारिक हिसाबले महत्वपूर्ण कोशेढुङ्गा करिडोर बन्नेछ ।

विसं २०५७ पुस १ गते गुल्मीमा शिलान्यास भएको उक्त सडक १९ वर्षपछि हस्तान्तरण चरणमा पुगेको छ । पटकपटक कडा चट्टान देखेर गुल्मी र बागलुङमा काम गर्न नसकेर निर्माण कम्पनी फर्केको अवस्थामा विसं २०७० देखि सरकारले कालीगण्डकी करिडोरको ८० किलोमिटर खण्ड नेपाली सेनालाई जिम्मा दिइएको थियो । नेपाली सेनाले जिम्मा पाएको छ वर्षमै करिडोरले मूर्तरूप लिन थालेको छ । शुरुमा आठ मिटरको ट्र्याक खुला गरेको सेनाले १० मिटर चौडा पार्ने कामलाई तीव्रता दिएको छ । निर्धारित दूरीको फराकिलो निर्माणपछि धमाधम सडक विभागलाई हस्तान्तरण गरिएको छ । करिडोरको बागलुङ र गुल्मी खण्डको ८० किलोमिटरमध्ये पाँच वटा खोलामा बेलिब्रिज निर्माण गरिसकिएको छ ।

पचासी किलोमिटर सडक बेनीदेखि मुस्ताङको कागवेनीसम्मको सडकको ट्र्याक नेपाली सेनाले खुला गरी विसं २०६८ मा उक्त सडकखण्ड सडक विभागलाई हस्तान्तरण गरिसकेको छ भने कागवेनीदेखि कोरलासम्म अहिले धमाधम काम भइरहेको छ । गुल्मीदेखि बागलुङको मालढुङ्गा सडकको ट्र्याक खोल्न नेपाली सेनाको कार्यदलले विसं २०७० को वैशाखमा जिम्मा लिएर अहिले कामको अन्तिम चरणमा पुगेको नेपाली सेनाका निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टाईले जानकारी दिए ।

भूकम्प, नाकाबन्दीलगायतका कारणले काममा समस्या भए पनि विसं २०७६ मा ट्र्याक खोल्ने लक्ष्य लिएकामा एक वर्षअघि नै काम सम्पन्न गरी १० मिटर चौडा पार्ने काम भइरहेको छ । अहिले करिडोरको गुल्मीमा नौ र बागलुङमा ३० किलोमिटर सडक निर्माण सम्पन्न गरी सरकारलाई बुझाइसकेको भट्टराईले जानकारी दिए । करिडोरले विकास र अवसरबाट पछाडि परेका दुर्गम गाउँहरु राम्रो बजार बनेका छन् । दुर्गम भनेर उपेक्षा गरिएका स्थानहरु सुगम बनेका छन् । करिडोरले कुनै एक निश्चित भूगोलको मात्र नभई सिङ्गो मुलुकको सम्भावनालाई उजागरसमेत गर्दै आएको स्थानीयले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *