तालिम लिन अमेरिका पुगेका सशस्त्रका सई उतै लुकेपछि…
काठमाडौं । तालिम लिन अमेरिका गएर उतै लुकेका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) अन्ततः पक्राउ परेका छन् ।
करीव १० वर्ष अघि तालिमको लागि सशस्त्र प्रहरी बलबाट विदेश गएका बेला उतैबाट भागेर सम्पर्कमा नआई भगोडाखाली भएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक उमेश सिलवाललाई सशस्त्र प्रहरी बल, नेपालले पक्राउ गरेको हो ।
निज सिलवाल भगोडा भएको पुष्टि गर्दै सशस्त्र प्रहरी बिशेष अदालतबाट गत वर्ष २०७५ साल भदौ ३१ गते सिलवाललाई तीन वर्ष कैद सजायको फैसला भएको थियो।
कैद सजायको फैसलापछि लुकीछिपी बसेका सिलवाललाई एपीएफ टोलीले पक्राउ गरेको हो ।
उनलाई आइतबार महान्यायाधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानुनी प्रकृया पुरा गरी डिल्ली बजार कारागार सदरखोरमा बुझाईएको छ।
ललितपुरको गोदावरी नगरपालिका–३ घर भएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक सिलवाल अमेरिकामा संचालन भएको ‘भिआईपी प्रोटेक्सन ट्रेनिङ’मा गएको बेला तालिम सकाएपछि उतैबाट भागेका थिए ।
उक्त तालिम झण्डै १० वर्ष अघि २०६७ साल फागुन ३० गतेदेखि चैत्र १८ गतेसम्म संचालन भएको थियो।
उक्त तालिम समापन भएको पर्सीपल्ट नेपाल फर्कने क्रममा वि.सं. २०६७ साल चैत्र २० गते अमेरिकास्थित एयरपोर्टबाटै भागेका थिए ।
Facebook Comment