पीपीएलः पोखराद्वारा बुटवललाई १ सय २२ रनको लक्ष्य
पोखरा । शुक्रबार पोखरा प्रिमियर लिग अन्तर्गत पोखरा पल्टनले बुटवल ब्लास्टर्सलाई १ सय २२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभर पुरा खेल्दै ५ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो ।
पोखराका लागि सुरुवात एकदमै खराब रह्यो । ओपनरका रुपमा आएका कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमै ललित सिंह भण्डारीको बलमा एलबी डब्लु धरापमा शुन्य रनमै आउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान शरद भेषवाकरे १४ बलमा ७ रन बनाउँदै हर्स टोङको बलमा विपिन खत्रीको हातबाट क्याच आउट हुन पुगे ।
त्यस्तै चौंथो नम्बरमा ब्याटिङ गर्न आएका विनोद भण्डारी ५ बलमा ३ रन बनाउँदै हर्ष टोङकै बलमा अफताव अहमदको हातबाट क्याच आउटको सिकार हुन पुगे । अर्का ओपनर इशान पाण्डे १९ बलमा १३ रन बनाउँदै सन्नी सिंङको बलमा कप्तान सिद्धान्त लोहनीको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै खेलको मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल पनि लामो समय टिक्न सकेनन् । उनी १८ बलमा १९ रन बनाउँदै नितेश थापाको बलमा बोल्ड भएका थिए ।
बुटवलका लागि हर्स टोङले ४ ओभर १० रन दिँदै २ विकेट लिएका थिए । त्यस्तै ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन दिँदै १ विकेट, सन्नी सिङ २ ओभरमा २४ रन दिँदै १ विकेट, नितेश थापाले १ ओभरमा ३ रन दिँदै १ विकेट लिएका थिए ।
बुटवलको सुरुवाती ११ मा ललित सिंह भण्डारी, हरीबहादुर चौहान, विपिन खत्री, शंखर राना, भिम सार्की, अविनाश बोहरा, नितेश थापा, हर्स टोङ, शिभम् सिंह, अफताव अहमद रहेका छन् । त्यस्तै आजको खेलमा बुटवलका कप्तान सोमपालको ठाउँमा सिद्धान्त लोहनीलाई कप्तानीको जिम्मा दिइएको छ ।
त्यसैगरी पोखराको सुरुवाती ११ मा कप्तान शरद भेषवाकर, विनोद भण्डारी, कुशल भुर्तेल, रसिद खान, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, कुशल मल्ल, प्रथमेश डाके, रबिन्द्र सिंङ, सर्वजित लड्डा र इशान पाण्डे रहेका छन् ।
बिहीबारको खेलमा चितवन राइनोजसँग पराजित भएको बुटवल अंक तालिकाको पुच्छारमा रहेको छ । अंक तालिकामा सुधार गर्न आजको खेल जित्नु आवश्यक छ ।
Facebook Comment