आइपिएलः ८ अलग अलग टिमका लागि खेल्ने एकमात्र खेलाडी बने अस्ट्रेलियाका कप्तान
काठमाडौं। अस्ट्रेलियाको टि–२० र एकदिवसीय टिमका कप्तान एरोन फिन्च आइपिएलको आगामी सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरको तर्फबाट खेल्नेछन् । बिहीबारको अक्सनमा आरसीबीले उनलाई ४.४० करोडमा किनेको छ । यसका साथै आइपिएलको इतिहासमा ८ फरक फरक फ्रेन्चाइजको लागि खेल्ने फिन्च एकमात्र खेलाडी बन्ने भएका छन् ।
फिन्चले आइपिएल करिअर २०१० मा राजस्थान रोयल्सबाट गरेका थिए । त्यो सिजन राजस्थानका लागि खेलेका फिन्चले २०११ र २०१२ को सिजन दिल्ली डेयरडेभिल्का लागि खेले । २०१३ को सिजन फिन्चले पुणे वारियर्सको लागि खेले । २०१४ मा उनी सनराइजर्स हैदराबादको लागि खेले । २०१५ मा फिन्च मुम्बइ इण्डियन्सको तर्फबाट मैदानमा उत्रिएका थिए ।
२०१६ मा फिन्च गुजरात लायन्सको लागि खेले । २०१७ को सिजनमा भने फिन्च आइपिएल नै खेलेनन् । २०१८ मा भएको अक्सनका उनलाई किंग्स ११ पंजाबले किन्यो । २०१९ मा पनि फिन्च पंजाबकै लागि खेले । अहिले बैंगलोरमा आबद्ध भएसँग उनको फ्रेन्चाइजी संख्या ८ पुगेको छ ।
अब फिन्चले अहिले पनि आइपिएल खेलिरहेका फ्रेन्चाइजमध्ये चेन्नइ सुपरकिंग्स र कोलकाता नाइटराइडर्सको लागि मात्र खेल्न बाँकी छ । फिन्चबाहेक अन्य कुनै पनि खेलाडी छैनन् जसले आइपिएलमा ६ भन्दा धेरै फ्रेन्चाइजको लागि आइपिएल खेलेका छन् । युवराज सिंह र पार्थिक पटेलले ६ फरक फरक टिमको लागि खेलेका छन् ।
Facebook Comment