दीपक–दीपाको फ्लोअर हुँ, फ्लोअर्सले कहिल्यै प्रतिस्पर्धा गर्दैनः कुञ्जना घिमिरे

डिसी नेपाल
४ पुष २०७६ १३:३९

काठमाडौं। टेलिभिजनमा हास्य टेलिश्रृङखला लिएर आउने अधिकांश हास्य कलाकार अहिले चलचित्रमा केन्द्रित भएका छन्। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्तदेखि किरण केसी, शिवहरी पौडेलसम्म चलचित्रमा ढल्किएका छन्।

दीपकराज गिरी र दीपाश्री निरौलाको समूह चलचित्रमा सक्रिय भएको धेरै वर्ष भैसक्यो। अहिले चलचित्रमा सबैभन्दा बलियो टीम नै उनीहरुको छ। उनीहरुको चलचित्रले सबैभन्दा बढी ब्यापार गर्दै आएको छ।

अहिले सानो पर्दा हुँदै समाज सेवामा केन्द्रित सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) पनि ठूलो पर्दाको चलचित्रमा आउन तयार छन् ।

सुरुमा दीपक–दीपाको चलचित्रमा रहेका सिताराम अहिले आफैं चलचित्र निर्माण गरेका हुन्। ‘धुर्मुस–सुन्तली’ले ‘सेन्टी भाइरस’ नामक चलचित्रको निर्माण गरिसकेका छन्। बिहीबार चलचित्रको ‘फनफनी’बोलको गीत सार्वजनिक गरियो।

गीत सार्वजनिक कार्यक्रममा निर्माणाधीन ‘क्रिकेट रंगशाला’ को काममा व्यस्त भएका कारण सिताराम उपस्थित हुन सकेनन् भने कुञ्जना उपस्थित थिइन्।

त्यहाँ कुञ्जनालाई सोधियो, –‘दीपक–दीपासंग तपाईहरुको प्रतिस्पर्धा हो?’ उत्तरमा कुञ्जनाले दीपकराज र दीपासँग आफूहरुको कहिल्यै प्रतिस्पर्धा नभएको बताइन्। कुञ्जनाले भनिन्, –‘मैले कमेडी जनारामा इन्ट्रि गरेको ‘तितो सत्य’बाट हो। दीपक दाई यहाँ नभएनि एकदमै मिस गरिहरेको छु। उहाँहरुलाई म जहिले पनि सम्मान गर्छु। उहाँहरुसंग हाम्रो कहिल्यै कम्पिटेशन छैन।’

कार्यक्रममा चलचित्रलाई शुभकामना दिन दीपाश्री भने पुगेकी थिइन्। कुञ्जनाले दीपक–दीपाको आफू फ्लोअर भएको बताउँदै भनिन्, –‘उहाँहरुको हामी फ्लोअर्स हो। फ्लोअर्सले कहिल्यै कम्पिटेशन गर्दैन्।’

उनले सबैको मेहनतले एउटा राम्रो चलचित्र बनेको प्रतिक्रिया दिइन्। रंगशाला निर्माणको सहयोगार्थ चलचित्र निर्माण गरेको बताउँदै सबैलाई माया गरिदिन कुञ्जनाले आग्रह गरिन्। यो चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ।

‘सेन्टी भाइरस’लाई सुपरहिट ‘कबड्डी’ सिरीजका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेको चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ।

डिन्डु लामा ह्योल्मोको लगानी रहेको चलचित्र शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् भने सम्पादनको जिम्मा निमेश श्रेष्ठले लिएका छन्।

चलचित्रमा ‘धुर्मुस–सुन्तली’का साथमा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ। चलचित्र फागुन ९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *