शिवमायाको सभामुख रुप

डिसी नेपाल
४ पुष २०७६ १६:२४

काठमाडौं। नेपालको संसदीय इतिहासमा पहिलो पटक उपसभामुखले संसद अधिवेशन शुरु गरेको घटना शुक्रबार भएको छ। प्रतिनिधिसभामा सभामुख पद रिक्त रहेको बेला शुक्रबार उपसभामुख शिवमाया तुम्बाहाम्फले संसद अधिशवेनको अध्यक्षता गर्दै अधिवेशन शुरु गरेकी हुन्।

तत्कालीन सभामुख कृष्णबहादुर महाराले बलात्कार उद्योगमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका थिए। गएको असोज १३ गते महराले सभामुख पदबाट राजीनामा दिएपछि हालसम्म प्रतिनिधिसभा सभामुखबिहीन छ। सभामुख नरहेको अवस्थामा संसद अधिवेशनको अध्यक्षता कसले गर्ने भन्ने अन्यौलकाबीच उपसभामुख तुम्बाहाम्फले कानून व्यवसायीसँग गरेको छलफलमा सकरात्मक राय पाएपछि उनी अधिवेशनको अध्यक्षता गर्ने निश्कर्षमा पुगेकी थिइन्।

संसदको हिउँदे अधिवेशन शुक्रबार शुरु भएको छ। अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाइएको पत्र पढेर सुनाइएको थियो। त्यसपछि २०७० मा भक्तपुर २ बाट निर्वाचित सांसद रामेश्वर ढुंगेलको निधन भएकोमा शोक प्रस्ताव पारित गरेर शुक्रबारको बैठक सकिएको थियो।

शुक्रबार प्रतिनिधिसभाको बैठकको सुरुमा नै बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेश औपचारिक रुपमा आरम्भ भएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशनको आव्हान र अन्त्य भएको घोषणा गर्ने संबैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम संघीय संसदका दुवै सदनको बैठक आरम्भ भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई उपभामुख तुम्बाहाम्फेले पढेर सुनाएकी थिइन्।

त्यसैगरी , शुक्रबार नै राष्ट्रियसभाको बैठकमा पनि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकले विभिन्न समयमा निधन भएका ४ जना पुर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बैठकले २०५१ सालमा तात्कालि नेकपा एमालेको तर्फबाट संखुवासभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि बैरागी दाहाल, २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित सदस्य कमला कुमारी घिमिरे, २०५१ सालमा नेकपा एमालेको तर्फबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रामलखन महतो र २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य रामेश्वर ढुंगेलको निधनमा छुट्टा छुट्ै शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते शुक्रबार दिउसो १ बजेका लागि बोलाइएको छ ।

यसैबीच, प्रतिनिधिसभाको पुस ११ गते बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनका लागि औपचारिक प्रक्रिया अघि बढाईने भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले यस्तो निर्णय गरको हो । अधिवेशको पहिलो बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति भएको हो ।

शुक्रबार शुरु भएको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिने गरिन्छ । संसदको पाँचौ अधिवेशन अर्थात् विधेयक अधिवेशनमा छलफलका लागि तयारी अवस्थामा रहेका विधेयकहरु अधिकांश विवादित छन् । चौथो अधिवेशनपछि राष्ट्रियसभामा २ वटा र प्रतिनिधिसभामा ६ वटा नयाँ विधेयक दर्ता भएका छन् । चौथो अधिवेशनमा पारित हुन बाँकी ८ वटा विधेयक सांसदहरुलाई अध्ययनका लागि बाँडिएको छ । १५ वटा विधेयक विषयगत समितिमा छलफलका क्रममा छन् ।

विशेष गरेर अघिल्लो अधिवेशनमा नै संघीय संसदमा पेस गर्ने तयारी गरिएको नागरिकता विधेयकलाई महत्वका साथ हेरिएको छ । यो विधेयक संसदीय समितिमा छलफलकै क्रममा छ । मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद् ,शान्ति सुरक्षा, कर्मचारी सम्बन्धी, लोकसेवा आयोग, मिडिया काउन्सिल लगायतका विधेयकहरु अधिवेशनबाट पास गर्ने तयारी सरकारले गरेको छ । यी विधेयकमा राखिएका प्रावधान सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाउदै आएको छ । राष्ट्रियसभामा दर्ता भइसकेको नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई दबाब नै दिएको छ । गत असोज २ गते संसदको चौथो अधिवेशन अन्त्य भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *