यातायात व्यवसायीको नियन्त्रणमा सरकार भएकाले सवारी दुर्घटना बढ्दै गए

डिसी नेपाल
४ पुष २०७६ १७:२२

काठमाडौं । सांसदहरुले सरकार यातायात व्यवसायीको नियन्त्रणमा भएकाले सवारी दुर्घटना बढेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद महिन्द्र राय यादवले सरकारको नियन्त्रणमा यातायात व्यवसायी हुनुपर्नेमा सरकार नै व्यवसायीको नियन्त्रणमा हुँदा सवारीसाधनको दुर्घटना बढ्दै गएको बताए । उनले व्यवसायीहरुको प्रभावमा परेर सरकारले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि काम नगरेको बताए ।

त्यस्तै सांसद गणेशकुमार पहाडीले लामो दुरीमा एउटै चालकले सवारीसाधन चलाउँदा दुर्घटना बढेको बताए । उनले समितिले २०७२ सालमा नै लामो दुरीमा सवारी साधन चालउन नदिन निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन नभएको बताए।

सांसद रगंमती शाहीले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ऐन कानून र बजेट प्रयाप्त भएपनि काम हुन नसक्नुको कारण मन्त्रालयले दिनुपर्ने बताइन् । उनले मन्त्रालय र त्यसका निकायहरुमा दक्ष कर्मचारी हुँदापनि दुर्घटना न्यूनिकरणको नतिजा किन शुन्य भएको भन्दै प्रश्न गरिन् । सांसद दुर्गा पौडेलले मानविय कारणले दुर्घटना बढी छ भनेर बस्नु भन्दा न्यूनिकरण गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।

समितिका सभापति तथा सांसद कल्याणी कुमारी खडकाले समितिले दिएका निर्र्देशनहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यान्वयनमा चासो नदिएको बताइन् । उनले सवारीसाधन दुर्घटना दिनदिनै बढ्दै जाँदा मन्त्रालयले त्यसको न्यूनिकरणका लागि काम नगरेको बताइन् ।

सांसदहरुले मन्त्रालयले मानविय र यान्त्रीक कारणले दुर्घटना बढेको भन्दै तथ्याङ्क जम्मा गरेर बस्ने काम मात्रै गरेको बताएका छन् । सभापति खडकाले सडकको क्षेत्रमा काम गर्ने सबै निकाय तथा सबै तहका सरकारसँग समन्वय गरी सडक दुर्घटना न्यूनिकरणका लागि काम गर्न मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *