पर्यटन प्रर्वद्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री ज्वाला

डिसी नेपाल
५ पुष २०७६ ७:४९

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पर्यटन प्रवद्र्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

सुर्खेतमा शुक्रबारदेखि शुरु होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले होटल र पर्यटन क्षेत्र परिपूरक रहेको बताए ।

मन्त्री ज्वालाले कर्णालीमा अथाह पर्यटकीय सम्पदा रहेको भन्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्न होटल व्यवसायीलाई आग्रह गरे ।

“कर्णाली प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले धनी छ, तपाईहरु एकपटक यहाँ घुमेर आनन्द लिनुस्”, उनले भने, “महाधिवेशनको सन्दर्भलाई आफ्नो व्यावसायिक कामका लागि मात्र नसम्झी पर्यटकका रुपमा यहाँका पर्यटकीयस्थलमा पुगेर प्रवद्र्धन गरिदिनुस् ।”

उनले नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा मुलुकभरका होटल व्यवसायीको कर्णाली भ्रमणले सकारात्मक सन्देश फैलिन पुगेको विश्वास व्यक्त गरे।

प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकासलाई महत्व दिएर बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री ज्वालाले कोहलपुर–सर्खेत चार लेन सडक निर्माणको बोलपत्र प्रक्रिया शुरु भइसकेको र कर्णाली राजमार्गको नाग्मा–मुगु खण्ड यसै आर्थिक वर्षमा स्तरोन्नति हुने बताए ।

सुर्खेत–हिल्सा सडकको डिपिआर तयार गर्नुका साथै सुर्खेत उपत्यकाको चक्रपथ निर्माण र सुर्खेत विमानस्थल विस्तारका लागि सङ्घीय सरकारलाई दबाब दिइरहेको उनको भनाइ थियो।

प्रदेश सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेको भन्दै लगानी गर्न व्यवसायीलाई आग्रह समेत गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य नरबहादुर विष्टले नेपालको उत्कृष्ट गन्तव्य कर्णालीमा महाधिवेशन आयोजना गरेकामा होटल व्यवसायी महासङ्घलाई धन्यवाद दिए ।

कर्णालीको पर्यटन विकासमा सधैँ साथ दिन उनको आग्रह थियो। होटल व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले आफूहरु राज्यलाई दोहोरोतेहोरो कर बुझाउन बाध्य भएको गुनासो गर्दै भने, “हामीले पटकपटक सरकारलाई घच्घच्याउने काम गरेका छौँ, सुनुवाइ भएको छैन, राज्य कर लिने सेवा सुविधा दिने कुरामा सकारात्मक देखिँदैन।”

उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीको पर्यटन प्रवद्र्धनमा महाधिवेशनले ठूलो टेवा पुर्याएको दाबी गरे ।

पर्यटन र होटल व्यवसाय एकापसमा अन्तर सम्बन्धित क्षेत्र भएकाले राज्यले पर्यटन विकासको योजना ल्याउँदा होटल व्यवसाय क्षेत्रलाई समेट्नुपर्ने धारणा राखे ।

महासङ्घका अध्यक्ष अमृत भुजेलले राज्यलाई सबैभन्दा बढी कर तिर्ने र रोजगारी सिर्जना गरेर हजारौँ युवालाई स्वदेशमै काममा लगाए पनि आफूहरुले उचित सम्मान पाउन नसकेको बताए ।

“राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण ठीक छैन, प्रहरी प्रशासन लगाएर दुःख दिने क्रम जारी छ, हचुवाका भरमा होटल व्यवसायी दर्ता गर्ने परिपाटी छ”, अध्यक्ष भुजेलले भने, “दोहोरो कर हामीबाटै लिने तर, सम्मानजनक व्यवहार नगर्ने राज्यको व्यवहारबाट हामी दुःखी छौँ।”

महाधिवेशनमा नेपाली काँग्रेस जिल्ला सभापति कमलराज रेग्मी, सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव लक्ष्मण कँडेललगायतले शुभकामना व्यक्त गरे ।

महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा भाग लिन मुलुकभरका साना–ठूला ८० हजार होटलको प्रतिनिधित्व गर्दै एक हजार ५०० बढी प्रतिनिधि सुर्खेत आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *