उत्तरकोरियाका राजदूतद्वारा कृषि क्षेत्रको अवलोकन

डिसी नेपाल
५ पुष २०७६ ८:०२

बेत्रावती । नेपालको लागि उत्तरकोरियाका राजदूत जो योङ मेनले नुवाकोटको विभिन्न स्थानका भ्रमण अवलोकन गर्दै यहाँको कृषिखेती एवं माछापालनसम्बन्धी जानकारी लिएका छन्।

बिहीबार र शुक्रबार नुवाकोटको कृषि क्षेत्रअन्तर्गत माछापालन, कफी र तरकारी खेतीसम्बन्धी जानकारी लिने क्रममा राजदूत मेनले मस्य अनुसन्धान केन्द्र त्रिशूलीको सञ्चालन तथा त्यहाँबाट प्रवाह हुँदै आएको सेवाको जानकारी लिँदै नेपाल र उत्तरकोरियाबीच माछापालनको अनुभवलाई एक अर्कामा आदानप्रदान गर्न सकिए उत्पादन वृद्धि र लागत कम गर्न सकिने विश्वास व्यक्त गरे।

“नेपालमा सफलरुपमा उत्पादन भइरहेको र धेरैको रुचिमा पर्ने ट्राउट माछा उत्तरकोरिया सञ्चालन गर्न इच्छा लागेको छ ।” उनले भने, “आवश्यक तयारी तथा उत्पादनदेखि बजारीकरणसम्मको अवस्थाको जानकारी लिँदा दुई देशबीच कूटनीतिक पहलमार्फत कृषि क्षेत्रमा साझेदारी कार्यक्रम चलाउन आवश्यक लागेको छ।”

मस्य अनुसन्धान केन्द्रका प्रमुख ईश्वरीसिंह महतोसहित कार्यालयका प्राविधिकसँग करिब चारघण्टा भएको छलफल र माछापालनको लागि स्थलगत अनुगमनपश्चात् उत्तरकोरियामा उत्पादन हुने माछा र तरकारीखेतीलाई नेपाल भित्र्याउन र यहाँको माछा र तरकारी खेती प्रणालीलाई लैजान आफूले पहल अघि बढाउन चाहेको उनको भनाइ छ।

पछिल्लो समयमा उत्तरकोरियाबाट नेपालमाथि हुँदै आएको सहयोग कार्यक्रम तथा लगानी कमजोर हुँदै गइरहेको अवस्थामा राजदूत मेनले नुवाकोटको मत्स्य अनुसन्धान केन्द्रपश्चात् बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाको विभिन्न स्थानका किसानको ट्राउट माछापालन र कफीखेतीको अवलोकनपश्चात् दुई राष्ट्रबीच कफी र माछापालन कार्यक्रम सञ्चालनको योजना चलाउन तयारी अघि बढाउने जानकारी दिए ।

उनले मस्य अनुसन्धान केन्द्र र यहाँका किसानले पालन गर्दै आएको ट्राउट, टिलापिया, कमनकार्पलगायत जातका माछा र कफीखेती सञ्चालन गर्न दुई देशबीच समझदारी भएमा यान्त्रीकरणको प्रयोग, कम लागतमा बढी उत्पादन, बिक्रीको लागी विश्व बजार पुर्याएर परम्परागत खेतीलाई व्यावसायिकतर्फ उन्मुख गराउन सकिने प्रतिक्रिया दिए ।

“दुई देशबीच कृषिअन्तर्गत तरकारी, कफी र माछापालन सञ्चालनमा साझेदारी कार्यक्रम चलाउन भ्रमण निकै उपलब्धि रह्यो।” उनले भने “हामी आत्मनिर्भर कसरी बन्ने भन्नेमा चिन्तित छौँ, यसमा नेपाल पनि हुनुपर्ने देखिन्छ । त्यसका लागि दुई देशबीच सहकार्य आवश्यक छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *