धुलिखेलको आकाशमा ‘सुपरम्यान जिपलाइन’, ‘सुपरहिरो’ बन्न युवा युवतीको लाइन (फोटोफिचर)

काठमाडौँ । वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपालमा “भिजिट नेपाल २०२०” अभियान सञ्चालन भइरहेको छ।
अंग्रेजी वर्ष २०२० देखि पर्यटन वर्षले प्रवेश पाउने छ। भ्रमण वर्षलाई लिएर यतिबेला देशभर विभिन्न अभियान सञ्चालन भइरहेका छन्। भ्रमण वर्ष सफल बनाउनका लागि केन्द्र प्रदेश र स्थानीय तीनै तहका निकाय सक्रिय भइरहेका छन्।

भ्रमण वर्षलाई सफल बनाउन सम्भावित पर्यटन क्षेत्रको पहिचान, पूर्वाधार विकास र प्रचारप्रसारका काम तिब्र भइरहँदा काभ्रेको धुलिखेललाई पनि आकर्षक पर्यटकीय गन्तव्यका रुपमा लिने गरिन्छ। सूर्योदयको मनमोहक दृश्यावलोकनका साथै लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचूलगायतका हिम दृष्यले मनै लोभ्याउने गर्दछ।

विशेष गरी पछिल्लो समय साहसिक खेलका लागि धुलिखेल निकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा चिनिन थालेको छ। त्यसमा पनि करिब एक वर्ष अगाडि सञ्चालनमा आएको जिप लाईनले झन् धुलिखेलको पर्यटन क्षेत्रमा सुनमा सुगन्ध थपिदिएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सीमानामा पर्ने थाक्लेडाँडामा जिप लाइन सञ्चालित छ । यो जिपलाईन थाक्लेडाँडाबाट सुरु भई पल्लो पट्टीको फुच्चे डाँडो खावामा गएर टुँगिन्छ ।
काठमाडौँबाट नजिक र पर्यटकीय हिसाबले पनि निकै प्रख्यात ठाउँ भएकाले पछिल्लो समय धुलिखेलमा जिपलाइनको मज्जा लिन युवायुवतीको भिड लाग्ने गरेको छ। सामान्य युवायुवती मात्र नभइ नेपालका प्रतिष्ठित व्यक्तित्व पनि यहाँ पुगेर जिपलाइनको मच्चा लिइरहेका छन्। नायिका प्रियंका कार्की, नायक आयुषमान देशराज जोशी, अनमोल केसी, रेखा थापा बुद्ध लामा लगायतका कलाकारले पनि धुलिखेल पुगेर जिप लाइनको मज्जा लिइसकेका छन्।

नेपालीका लागि मात्र नभइ विदेशी पर्यटकका लागि पनि यो निकै आकर्षक गन्तव्यको रोजाइमा पर्ने गरेको छ। चीन, कोरिया, हङकङ, अमेरिका र स्वीजरल्याण्डका पर्यटकले साहसिक खेलको मजा लिइसकेका छन्।

अन्तर्राष्ट्रिय प्रविधिमा निर्मित
पर्यटन वर्ष २०२० लाई लक्षित गरी पौने ५ करोडको लागतमा “वल्र्ड वाइड एड्भेञ्चर प्रा.लि.”ले यो साहसिक खेल ‘जिपलाइन’ को सुरुवात गरेको हो।
युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भइ अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको यो जिप लाइनमा अहिले पनि भारतीय प्राविधिकसहित २२ जना कर्मचारी कार्यरत छन्।
जिप लाइन र रिसोर्टमा १६ वर्ष मुनिका बालबालिकालाई प्राथमिकता दिएर चिल्ड्रेन एड्भेञ्चर क्याम्प पनि निर्माण भइरहेको छ । बालबालिकाहरुका लागि पिकनिक स्पट पनि तयार हुँदैछ। जिप लाइन गर्दाको फोटो र भिडियो कम्पनीले आफ्नो प्याकेजमा समेटेको छ । जिप लाइनको मज्जा लिनेहरुको फोटो र भिडियो तुरुन्तै चर्चित सामाजिक सञ्जालहरु फेसबुक, टुईटर र इमेलमा उपलब्ध गराइन्छ । जसका लागि गोप्रो क्यामेरबाट दृष्य कैद गर्ने गरिन्छ ।
तीन प्रकारका जिप लाइन
धुलिखेलमा हाल तीन प्रकारका साहसिक खेल सञ्चालनमा छन् । कम्पनीले एकजना मात्रै खेल्न मिल्ने गरी क्लासिक जिपलाइन, दुईजना अर्थात प्रेमजोडी एकैपटक खेल्न मिल्ने गरी टेन्डम जिपलाइन र सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यान गरी तीन प्रकारका साहसिक खेल सञ्चालनमा ल्याएको छ । पर्यटकहरुको आफ्नै रोजाई र इच्छाका आधारमा ‘जिप लाइन’ को मज्जा लिन सकिने सकिने सञ्चालक तथा संयोजक भुपेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार व्यक्तिको तौल, हावाको वहाव अनुसार औसत एक मिनेट २० सेकेण्ड जिप लाइन गर्न पाइन्छ । क्लासिक गर्न नेपाली २५ सय रुपैंयाँ, सुपरम्यानका लागि ३५ सय र टेन्डमका लागि ४५ सय रुपैंयाँ शुल्क तिर्नुपर्छ । रिसोर्टको बेग्लै शुल्क लाग्छ ।

१६ बर्ष माथिकाले मात्र यो खेलको मजा लिन पाउँछन् । १६ वर्ष मुनि उमेर समूहका बालबालिकाले परिवारको अनुमतिमा मात्र यो खेल खेल्न पाउने नियम छ। फ्लाइङ गर्नुअघि फाराम गर्नुुपर्छ भने प्राविधिकहरुको परामर्श पनि लिनुपर्ने हुन्छ। कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी जिप लाइन गर्न पाइन्छ । यसका लागि बेग्लै क्याप र चश्मा लगाउनुपर्छ ।

युवा युवतीको रोजाईमा ‘सुपरम्यान जिपलाइन’
‘सुपरम्यान जिपलाइन’ एकैपटक जोडीले हात खुट्टा फैलाएर फ्लाइ (उडेको) जस्तो प्रकृतिमा खेल्न मिल्ने र एक जनाले ‘फूलबडी आर्नेस’मा बसेर खेल्ने खेल नेपालमै पहिलो हो । नेपालका अन्य क्षेत्रमा क्लासिक जिपलाइन सञ्चालित रहेपनि वल्र्ड वाईड एड्भेञ्चर प्रा लिले चलाईरहेको नेपालकै पहिलो हो ।
जुन युवायुवतीमा अति लोकप्रिय पनि हुँदै गएको छ। जसका कारण क्लासिक भन्दा सुपरम्यान र टेन्डम गर्नेको संख्या ह्वात्तै बढेर गएको छ । अमेरिकी र क्यानेडेली प्रविधिको सामग्री प्रयोग गरेकाले खासै जोखिम नहुने सञ्चालकको दाबी छ । जसमा कम्पनीले नेपाल सरकारको नियमानुसार रु पाँच लाखको दुर्घटना बीमाको समेत व्यवस्था गरेको छ ।

जिपलाईनको अन्तिम बिन्दू खावा

Facebook Comment