‘दबंग ३’ को पहिलो दिनको कमाइ सोचेभन्दा धेरै कम, के फिल्म फ्लप हुन्छ ?
मुम्बइ। बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग ३’ शुक्रबार रिलिज भयो । फिल्मले पहिलो दिन बम्पर कमाइ गर्ने अपेक्षा गरिएको थियो । ट्रेड एनालिस्टहरुले फिल्मले पहिलो दिन करिब ४० करोडको व्यापार गर्ने अनुमान गरेका थिए । तर पहिलो दिनको समाप्तिपछि बक्स अफिसको आँकडा भने अनुमानका ठिक विपरित आएको छ ।
फिल्मले पहिलो दिन अनुमान गरेको भन्दा आधा अर्थात २३ करोडको मात्र व्यापार गरेको छ । फिल्मको पहिलो दिनको कमाइ हेर्दा फिल्म ब्लकबस्टर हुने अनुमान फेल हुने संकेत देखिएको छ । बक्स अफिस अफ इण्डियाको रिपोर्टअनुसार भारतमा नागरिकता कानुनको विरोधमा भइरहेको प्रदर्शनले फिल्मको व्यापार नराम्ररी प्रभावित भएको छ । जारी विरोध प्रदर्शनका कारण सलमानको फिल्म हाउसफुल हुने हलहरुमा दर्शक जानै सकेका छैनन्, कतिपय हलमा फिल्मको स्क्रिनिङ नै हुन सकेको छैन ।
विरोध प्रदर्शन भइरहेका राज्यमा धारा १४४ लागू गरिएको छ । यसका कारण फिल्मको कमाइमा १५ देखि २० प्रतिशत नोक्सानी भएको छ । विकेण्डमा फिल्मको कमाइ बढ्ने आशा गरिएको छ । फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । मसाला मनोरन्जनको हकमा भने फिल्मले दर्शकलाई सन्तुष्ट बनाएको छ । दबंग सिरिजको यो तेस्रो फिल्म हो । अब सलमानको अर्को फिल्म राधे आउँदैछ । राधे इदमा रिलिज हुने घोषणा गरिएको छ ।
Facebook Comment