एकपछि अर्को देशमा ‘मारुनी’ : जापानपछि अब अष्ट्रेलियाको सिड्नीमा
काठमाडौं। चलचित्र ‘मारुनी’ अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ। यसअघि जापान प्रदर्शनमा सकारात्मक प्रतिक्रिया पाएसंगै चलचित्र सिड्नीमा प्रदर्शन हुन लागेको हो। चलचित्र डिसेम्बर २७ तारेख अर्थात आगामी शुक्रबारका दिन सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरमा प्रदर्शन हुनेछ।
चलचित्र प्रदर्शनमा लागि अभिनेता पुष्प खड्का र निर्मात्री पूनम गौतम स्वयंम अष्ट्रेलियाको सिड्नी पुग्नेछन्। पुष्प पहिलोपटक अष्ट्रेलिया जान लागेकाले उत्साहित छन्।
सिड्नीमा एक्सपर्ट टेलिकमले प्रस्तुत गरेको यो चलचित्र त्यहाँ प्रदर्शनपश्चात अन्य शहरहरूमा पनि प्रदर्शन हुने जनाईएको छ।
गत भदौंमा नेपालमा प्रदर्शनमा आएको चलचित्रलाई दर्शकले रुचाएका थिए। नेपाल प्रदर्शनमा सकारात्मक प्रतिक्रिया पाएसंगै ‘मारुनी’को अहिले विदेशमा माग भईरहेको छ।
फरक कथालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्। चलचित्रमा पुष्पसंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतका कलाकारको शिर्ष भूमिका छ।
Facebook Comment