पीपीएलः विराटनगरलाई पराजित गर्दै काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा
पोखरा । शनिबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत भएको खेलमा काठमाडौं गोल्डेनले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले पुरा ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभर ४ बलमा अलआउट हुँदै लक्ष्य भेट्टाउन नसक्दा काठमाडौं विजयी भएको हो । विराटनगरले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २३ रन मात्रै बनाएको थियो ।
काठमाडौंका लागि ओपनर गौरभ तोमर टिक्न सकेनन् । उनी ६ बल खेलेर शुन्य रनमै किशोर महतोको बलमा शाहव आलमको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अमित श्रेष्ठ १५ बलमा १७ रन बनाउँदै नोमन खानको बलमा बोल्ड हुन पुगे ।
अर्का ओपनर किसन कोल्सावालाले इनिङलाई उकास्दै लैजाने क्रममा अर्धशतक बनाएर पुनीत मेहराको बलमा शाहब आलमको हातबाट क्याच आउट हुन पुगे । उनले ४३ बलमा ५ चौका र २ छक्काको मद्दतले ५५ रन बनाए । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान ज्ञानेन्द्र मल्ल पनि इनिङलाई उकास्ने क्रममा मेहराकै बलमा जितेन्द्र मुखियाको हातबाट क्याच आउट हुन पुगे ।
उनले ३३ बलमा ३ चौका र २ छक्काको मद्दतले ४५ रन बनाए । छैटौं नम्बरमा ब्याट समातेका सुबोध भाटी ९ बलमा १४ रन बनाउँदै जितेन्द्र मुखियाको बलमा नोमन खानको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै पवर सर्राफ र आदिल खानले अविजित क्रमश ५ र १३ रन लिए ।
त्यस्तै विराटनगरका लागि पुनीत मेहराले ३ ओभरमा १५ रन दिँदै २ विकेट लिए । भने नोमन खानले ४ ओभरमा ३८ रन दिँदै १ विकेट, किशोर महतो ३ ओभरमा १ मेडन फालेर ३३ रन दिँदै १ विकेट, जितेन्द्र मुखिया ३ ओभरमा २० रन दिँदै १ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको विराटनगरका लागि कप्तान प्रदीप सिंह ऐरीले २९ रन बनाए भने अन्य ब्यट्सम्यान चल्न सकेनन् । त्यस्तै नोमन खानले इनिङलाई उकास्ने क्रममा २६ बलमा २५ रन बनाउँदै रन आउट हुन पुगे । आठौं नम्बरमा ब्याटिङ गर्न आएका पुनीत मेहराले उत्कृष्ट पारी खेल्दै ३२ बलमा ३ चौका ३ छक्काको मद्दतमा ५३ रन बनाउँदै सुबोध भाटीको बलमा एलबीडब्लु धरापमा परे ।
त्यस्तै राजेश पुलामि मगर र जितेन्द्र मुखिया समान २ रनमा आउट हुन पुगे भने सुनिल धमाला, राजु रिजाल, मुहम्मदजाईद आलम र दिलिप नाथ, किशोर महतोले समान एकएक रन बनाएर आउट भए ।
काठमाडौंका लागि सुबोध भाटीले ४ ओभरमा २५ रन दिँदै ३ विकेट लिए । त्यस्तै अमर सिंह रौतेला १ ओभर ४ बलमा १२ रन दिँदै २ विकेट, बसन्त रेग्मी ४ ओभरमा २९ रन २ विकेट, सुशान भारी ४ ओभरमा २० रन दिँदै १ विकेट लिए ।
यो सहित ४ खेल खेलेको काठमाडौं २ जित र २ हारसहित जम्मा ४ अंक जोडेर अंक तालिकाको दोस्रो नम्बरमा उक्लेको छ ।
Facebook Comment