‘समृद्ध प्रदेश, खुशी जनता’को परिकल्पनाको शुरुआत : कानूनमन्त्री केसी
बुटवल । बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले शनिबार विशेष समारोह आयोजना गरेर सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको हो ।
घोषणासभामा सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा कार्यान्वयनको सुनिश्चितताका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रम तथा नगरवासीहरुले प्रतिबद्धता जनाए । घोषणा कार्यक्रममा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बुटवललाई सडक मानवमुक्त घोषणा गरेर ‘समृद्ध प्रदेश, खुशी जनता’ परिकल्पना साकार पार्ने अभियानको थालनी गरिएको बताएका छन् । “यति व्यस्त शहरमा बेसहारा मानवमुक्त सडक बनाउने अभियान सफल पार्नु चानचुने कुरा होइन । यो कार्य प्रशंसनीय छ”, उनले भने । आफ्नैभित्रबाट अभिभावकत्व गुमाउनुपर्दाको पीडा धेरै हुने बताउँदै उनले यो अभियानले परिवार र समुदायलाई सकारात्मक सन्देश दिएको धारणा राखे ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले मानव अधिकारको संरक्षण गर्ने दायित्व सरकारको भएकाले नगर सरकारले यसको जिम्मेवारी निर्वाह गरेको बताए । सामाजिक विकासमन्त्री सुर्दशन बरालले कोही पनि व्यक्ति सडकमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सरकार लागेकाले सहयोग गर्न सबैलाई आह्वान गरे।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रूपमा विकसित हुँदै गएको बताए । उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषणा गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अबका दिनमा बुटवलको सडकमा कुनै पनि व्यक्तिले जीवनयापन गर्नु नपर्ने प्रतिबद्धता जनाए । उनले मानवसेवा आश्रमको क्षमता तथा गुणस्तर वृद्धि गरी सेवालाई दीर्घकालीन बनाउन नगरपालिकाले सहयोग गर्ने बताए।
हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रूपमा कार्यान्वयन गर्ने चरणमा मानव सेवा आश्रमसँग सहकार्य गरी सडकमा बेसहारारूपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवलाई उद्वार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न गरी बुटवल उपमहानगरलाई सडक मानवमुक्त बनाइएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
नगरलाई बेसहारा सडक मानवमुक्त बनाउन बुटवल उपमहानगरपालिकाले यसअघि सरकारी निकाय, सामाजिक सङ्घसंस्था, नागरिक समाज, सञ्चारकर्मी, टोल विकास संस्था, विभिन्न समूह, सामुदायिक सङ्घसंस्था क्लब समाजसेवी, बुद्धिजीवी, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासँग समन्यवन र सहकार्य गरेको थियो । शारिरीक तथा मानसिकरूपमा असक्त मनोरोगी, अनाथ, अपाङ्गता भएका व्यक्ति र सहयोगापेक्षी मानवको उद्वार, उपचार र पालनपोषण गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालय र उपमहानगरपालिकाको सहयोगमा बुटवलमा मानव सेवा आश्रमको स्थापना गरिएको हो ।
सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिका र मानव सेवा आश्रमबीचको सहकार्यमा गत वर्ष पुस ७ गतेदेखि एक वर्षको अवधिमा १९७ को उद्धार गरिएको आश्रमका सञ्चालक रामजी अधिकारीले बताए । घोषणा कार्यक्रममा सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि योगदान पु¥याउने मानव सेवा आश्रमका सुशीला केसी, सरु अधिकारी, टीकामाया थापा, गङ्गा थापा र होमनाथ पौडेललाई सम्मान गरिएको थियो । घोषणा सभापूर्व बुटवलमा झाँकीसहित बृहत् ¥याली निकालिएको थियो ।
Facebook Comment