लठ्यायो डाँडाको नाकले
पोखरा । चिसो मौसममा पारिलो घाम । खुलेको सुन्दर मनमोहक सुन्दर हिमाल । हिउँदको समय । गाउँघरमा खेतीपातीका कामको भ्याई नभ्याई छैन। लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा डाँडाको नाकमा बिहीबारदेखि शुरु सौह्रौँ संस्करणको लेखनाथ महोत्सव स्थानीयवासीको आकर्षण बनेको छ।
भिन्न भिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिले महोत्सवमा आउनेलाई मोहित बनाएको छ। एकै ठाउँबाट घरायासी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण महोत्सवस्थल भरिभराउ हुने गरेको छ।
महोत्सवमा हाँस्य कलाकारको प्रस्तुतिदेखि गीत, नृत्य आदिले सहभागीलाई लठ्याएको छ नै, यहाँ राखिएका व्यापारिक प्रदर्शनी कक्षमा किनमेल गर्नेको भीडभाड देखिन्छ।
महोत्सवको तेस्रो दिन शनिबारसमेत परेकाले दिनैभर महोत्सवस्थल खचाखच भरिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।
१५ वर्षअघि सुन्तला महोत्सवबाट शुरु भएको महोत्सवमा एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भइरहेको उनले बताए ।
‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
महोत्सवस्थलमा शनिबार देखिएको दर्शकको उपस्थितिले आफुँहरू उत्साहित भएको प्रदर्शनी कक्ष नं १८० मा आधुनिक पोशाक कक्ष राखेका गोरखाका हरि सापकोटाले बताए ।
महोत्सवमा सामान्यत मनोरञ्जन लिन, सरसमान किन्नका साथै आफ्ना सहपाठी, इष्टमित्र र साथी दामलीलाई भेट्न पाइने लक्ष्यका साथ दर्शक आउने गरेको छन्।
प्रदर्शनी कक्ष नं ११२ मा किवीको स्टल राखेका दोलखा जिरीका पासाङतेन्जी शेर्पाले दर्शकको उपस्थितिले आफूहरूको व्यापार पनि बढेको बताए ।
महोत्सवमा पोखरा र आसपासका साथै तनहुँ, स्याङ्जालगायतका जिल्लाबाट दर्शक आएको उनले जानकारी दिए ।
महोत्सवमा राखिएका विभिन्न विद्यालयका प्रस्तुतिले मनोरञ्जनका साथै विद्यार्थीलाई ज्ञानगुनका कुरासमेत सिक्ने अवसर मिलेको छ ।
विद्यार्थीले मेहेनत गरेर बनाइएका सामग्री शैक्षिक प्रदर्शनीमा रहेका छन् । महोत्सवमा राखिएका आर्थिक, समाजिक, कृषि र पर्यटनसम्बद्ध सामग्रीले यस क्षेत्रको समग्र विकासका लागि पनि प्रेरणा दिने गोगन मावि कक्षा ११ की छात्रा ऐश्वर्या पौडेलले बताए ।
महोत्सवमा राखिएका सूचना प्रविधिका ३० कक्ष रहनुका साथै नवीनतम प्रविधिको प्रयोग, फ्रि वाइफाइ आदिले पनि युवापुस्तालाई आकर्षित गरेको सूचना प्रविधि संयोजक बुद्घि बाँस्तोलाले जानकारी दिए ।
दिनभरि मञ्चका रमाइला कार्यक्रम हेर्दै घर फर्कँदा आवश्यक सामग्री खरीद गर्ने क्रम बढेकाले महोत्सवस्थल व्यापारिक थलोजस्तै बनेको छ।
Facebook Comment