छात्रालाई माध्यामिक शिक्षामा आकर्षित गर्न निः शुल्क साइकल

डिसी नेपाल
६ पुष २०७६ १०:३२

भद्रपुर । कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ।

मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय शिक्षामा आकर्षित गराउन निःशुल्क साइकल वितरण गरेको हो।

हालसम्म १३८ छात्राले साइकल प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए।

हाँका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा २३५ छात्रालाई साइकल बाँड्ने गरी बजेट विनियोजन गरेको छ ।

मुस्लिम र आदिवासी समुदायका छात्राले माध्यमिक तहको शिक्षा पूरा नगर्दै विद्यालय छाड्ने समस्यालाई अन्त्य गर्न र शिक्षातर्फ आकर्षण बढाउन साइकल वितरण कार्यक्रम कार्यान्वयन गरेको पालिकाले जनाएको छ।

हालसम्म कक्षा ९ मा अध्ययनरत जनकल्याण माविका २०, कुवाडी देवी माविका ३३ र जनता माविका ८५ छात्राले साइकल पाइसकेका छन् ।

डिल्लीराज माविका ९७ छात्रालाई आगामी साता साइकल वितरण गरिने उनले जानकारी दिए ।

छात्रालाई अध्ययनमा प्रोत्साहित गर्न साइकल बाँड्ने पहिलो स्थानीय तह रहेको बताईन्छ ।

गत महिना सोही गाउँपालिकाले ५० भन्दा बढी महिला स्वयंसेविकालाई समेत निःशुल्क साइकल बाँडेको थियो।

शिक्षामा लगानी बढाउँदै नमूना बनिरहेको सो गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी प्राविधिक शिक्षा पढ्ने सबै छात्रछात्रालाई जनही रु १२ हजारका दरले प्रोत्साहन रकम दिने तयारी गरिरहेको छ।

सो कार्यका लागि हाल नाम सङ्कलन भइरहेको अध्यक्ष साहले जानकारी दिए ।

अन्तरराष्ट्रिय महोत्सवको तयारी

मेचीनगरमा आयोजना हुन लागिरहेको तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

महोत्सवमा रहने सबै २०० प्रदर्शनी कक्ष रहने छन्। मेची उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सो महोत्सव यही पुस ९ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए । महोत्सव पुस १७ गते समापन हुनेछ।

काँकडभिट्टा नाकाबाट चार किलोमिटर पश्चिमस्थित ऐतिहासिक बजार धुलावारीमा महोत्सवस्थललाई सिङ्गारिएको छ ।

महोत्सवमा एक लाख ५० हजार अवलोकनकर्ता भित्र्याउने आयोजकको लक्ष्य छ । ताप्लेजुङको प्रसिद्ध पाथिभरा देवीको मन्दिरमा जानका लागि र झापाको हवाई दृश्यावलोकनका लागि हेलिकोप्टर भाडामा उपलब्ध हुने सङ्घका कार्यकारी अधिकृत गोपाल बस्नेतले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *