भारतले जारी गरेकाे नक्सा अस्वीकार गर्ने नेकपा स्थायी कमिटीको निर्णय

डिसी नेपाल
६ पुष २०७६ १९:४५

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ ।

आइतबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले जारी गरेको नक्सा अमान्य र अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको निष्कर्ष निकाल्दै कालापानी, लिम्पिायाधुरा, लिपुलेक र सुस्ता लगायतको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका सन्दर्भमा यो इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भन्ने कुरा अमेरिकालाई औपचारिक र आधिकारिक रुपमा स्पष्ट पार्न अनुरोध गर्ने निर्णय गरिएको बताए । अमेरिकाले एमसीसी इण्डो प्यासिफिक अन्तर्गत भन्ने प्रष्टिकरण दिएपछि यसमा रहेका अन्य भाषा परिमार्जन गर्ने विषयमा प्रधानमन्त्री र सरकारसँग छलफल गर्ने निर्णय गरिएको उनले बता ।

स्थायी कमिटी सदस्य भीम रावलले एमसीसीको विषयमा बैठकमा उठेका विषयहरु सरकरले स्पष्ट पार्नुपर्ने र अमेरिकाले पनि यो इण्डो प्यासिफिक अन्तर्गतको परियोजना होइन भनेर प्रष्ट पार्नुपर्ने निर्णय भएको बताए । यसको जिम्मा पार्टीको सचिवालयलाई दिइएको उनले बताए ।

स्थायी कमिटीले पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन केही संशोधनसहित पारित गरेको छ । त्यसैगरि, महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिइ आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको प्रवक्ता श्रेष्ठले बताए । केन्द्रीय कमिटी बैठक पुस २३ गतेका लागि बोलाइएको छ । पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्रकृया छिटो अगाडी बढाउने निर्णय पनि बैठकले गरेको छ ।

पछिल्लो समय सडक दुर्घटनाहरु बढिरहेको सन्दर्भमा दुर्घटना न्युनिकरणका लागि समग्र पक्षको अध्ययन गरी तदारुकताका साथ कदम चाल्न सरकारलाई अनुरोध गरिएको छ । साथै दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत र घाइतेहरुको उपचार गर्ने सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण बैठकले गरेको छ । पार्टी एकीकरणका बाँकी रहेका काम केन्द्रीय कमिटी बैठक अगाडी नै सम्पन्न गर्नुपर्ने निर्णय स्थायी कमिटीले गरेको छ । मंसिर २९ बाट बसेको स्थायी कमिटी बैठक आइतबार सातौँ दिन सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण सहभागि भएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *