यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनगणना गर्न माग
परासी । राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता मोहन पौडेलसहित पश्चिम नवलपरासी र रुपन्देहीका तीनजान सञ्चारकर्मी तथा एक सञ्चारगृहलाई यस वर्षको ‘सशक्तीकरण सम्मान’ प्रदान गरिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिवसको अवसरमा सशक्तीकरण नेपाल नवलपरासीद्वारा आइतबार परासीमा आयोजित कार्यक्रममा समाचारदाता पौडेल, रुपन्देहीका सञ्चारकर्मीद्वय रीमा बिसी र झविन्द्र देवकोटा तथा रेडियो परासी, परासीलाई सो सम्मान प्रदान गरियो।
रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले सम्मान गर्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आवाज सञ्चारमाध्यममार्फत उजागर गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने चर्चा गरे।
सशक्तीकरण नेपालका अध्यक्ष आनिक रानाले भने, “पत्रकार र सञ्चारमाध्यमबाट हाम्रा आवाज जनसमुदाय समक्ष पुग्न थालेपछि हामीलाई समाजमा खुल्न सहज भएको छ। हाम्रो बारेमा रहेको नकरात्मक बुझाई परिवर्तन भई सकरात्मक बुझाई हुन थालेको छ।”
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आफ्नो पहिचानअनुसारको नागरिकता, रोजगारीलगायतमा समस्या रहेको बताउँदै अधिकारकर्मी पुष्पा लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनगणना गर्नसमेत माग गरे।
Facebook Comment